तत्काल आठ सय मेगावाट खपत बढाउन सकिन्छः ऊर्जा सचिव «

तत्काल आठ सय मेगावाट खपत बढाउन सकिन्छः ऊर्जा सचिव


देशभित्रै तत्काल ८ सय मेगावाट विद्युत् खपत बढाउन सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले दाबी गरेका छन् ।
आगामी हिउँदमा ५ सय मेगावाटसम्म बिजुली खेर जाने भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापार लगायतका वैकल्पिक उपायको खोजी गरिरहेको बेला सचिव घिमिरेले यस्तो दाबी गरेका हुन् । औद्योगिक कोरिडोरको विद्युतीय संरचना बनाएमा अहिलेको उच्च माग २१ सय मेगावाट र पाँच वर्षभित्र ६ हजार मेगावाट पुग्ने उनको दाबी छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्बन्धी कार्यक्रममा उनले औद्योगिक क्षेत्रको माग र आपूर्ति व्यवस्थापन मिलाउन सक्नुपर्ने बताए । उद्योगले मागे जति विद्युत् पाउन नसकेको र यसका लागि प्रसारण तथा वितरण प्रणालीको संरचना बनाएर उद्योगलाई विद्युत् दिन दिनुपर्ने बताए ।
उद्योगले दिगो र गुणस्तरीय विद्युत् सेवा लिन आफैं प्रसारण तथा वितरण लाइन बनाउने प्रस्ताव राखेको बताउँदै उनले प्रस्तावका सम्बन्धमा उद्योगलाई नै आवश्यक लाइन निर्माण गर्न दिने र संरचना बनाउँदाको लागत उसले तिर्ने विद्युत् महसुलबाट घटाउँदै लैजाने गरी व्यवस्था गर्ने सम्बन्धमा गृहकार्य भइरहेको जानकारी दिए । प्राधिकरणले समयमै प्रसारण लाइन संरचना बनाउन नसकेको बेला विकल्पको रुपमा यस्तो अवधारणा अघि बढाउन लागिएको उनको भनाइ थियो ।
इपान उपाध्यक्ष आशिष गर्गले कार्यपत्र प्रस्तुत गर्दै एक वर्षभित्र १ हजार मेगावाटभन्दा बढी विद्युत् प्रणालीमा थपिन लागेकाले देशभित्रै खपत बढाउनुपर्ने र यसका लागि विद्युतीय सवारी साधान र चुल्होको प्रवद्र्धन गर्नुपर्ने बताए ।
स्वदेशभित्र खपत भएर बाँकी बिजुलीको लागि विद्युत् व्यापार सम्बन्धी कार्यविधि आइसकेकाले नेपालले पनि ढिला नगरी कार्यविधि ल्याई व्यापारको बाटो खोल्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा ऊर्जा उत्पादक कुबेरमणि नेपालले पछिल्लो समयमा सोलार निर्माण हुने क्रम बढेको बताउँदै यसका लागि उचित वातावरण बनाउनुपर्ने बताए ।

इपान लुम्बिनी प्रदेश गठन
ऊर्जा उत्पादक कुबेरमणि नेपालको संयोजकत्वमा सोमबार ७ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सह–संयोजकमा जयराम अर्याल, सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा आशिष सुवेदी तथा सदस्यहरुमा ध्रुव मिश्र, प्रवीण अर्याल र बलराम उप्रेतीलाई नियुक्त गरिएको छ । नवनियुक्त कमिटीका सबै पधाधिकारीलाई इपान अध्यक्ष कृष्ण आचार्यले सपथ दिलाए ।
उनले इपानको सबै प्रदेश कमिटी बनिसकेपछि प्रदेश स्तरका स्थानीय अवरोध, प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइलगायत समस्या समाधानका लागि सम्बन्धित निकायसम्म पहल तथा समन्वय गरेर जाने बताए ।

प्रतिक्रिया दिनुहोस्