कठघराको स्वतन्त्रता र नवकुलीन वर्गको उदय «

कठघराको स्वतन्त्रता र नवकुलीन वर्गको उदय

वैयक्तिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, पारिवारिक, नागरिक स्वतन्त्रताजस्ता व्यापक परिधिमा मानवीय सुख, अमन–चैनका पक्ष गाँसिएका हुन्छन् ।

महात्मा गान्धीले भनेका छन्– ‘स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।’ हरेक व्यक्तिले शान्ति, समृद्धिमा अमन चैनको जिन्दगी जिउन चाहन्छ । कसैको दमन, जलन, अत्याचारबाट मुक्त हुन नपाउँदा मानव मन मात्र होइन, प्राणी मात्रको दिलमा चोट पुग्छ । तर, अमुक शैलीबाट बालश्रम शोषण भइरहेको छोरीहरूको बाँच्न पाउने अधिकार खोसिएको छ । हलिया प्रथा, दास प्रथा, झुमा प्रथा या त छाउपडी प्रथा, देउकी प्रथाको मारमा अभाव र अशिक्षाको जलन छ । विपन्न वर्गका वेदना त्यसै चिमोटिएका छन् । तिनका आवाजलाई टाठाबाठाकै दमनकारी स्वरले सर्लक्क ढाकेर चाकडीबाजकै गुदीले समाजवादी आवरणमा ढपक्क ढाकिदिएको छ ।
भर्खरै भएको स्थानीय चुनावका लागि लाखौँ रकमसँग भोट बिक्री–वितरण भएका यथार्थ कुरा गाउँ, समाजका चोक, चमेनागृहमा पोखिन थालेका छन् । न्यायालयदेखि हरेक पुस्तकालयसम्म कर्मचारीतन्त्र, पार्टीगत नातावादी दादावाद, उपल्ला ओहदाका कर्मचारीका दबाबमूलक आदेशले बिना हिचकिचाहट चाकडीबाजले मैदान पाउँछ । यी सबै विचारमा आजको तीतापीरा वास्तविकता अवस्य छन् । बाध्यताले, अवसरको आशाले दमनलाई मूकशैलीमा स्वीकार गर्नैपरेको छ । विभेदमा मौका छोपेर उपेक्षाकै स्तरमा निरीहका स्वतन्त्रतालाई पिल्स्याइएका तीता यथार्थ छन् । त्यहाँ वाक्स्वतन्त्रता निमोठिएका छन् । नारी अस्मिता कुण्ठित छ– प्रथाले, समाजले, परम्पराले । विकट क्षेत्रका यी र यस्ता वेदनालाई पर्दाले यदाकदा रङ्गाएको होला । अभावसँग मितेरी लाउनेले नै समाजका अनेक थरी लाञ्छना बेहोर्दै गर्दा भ्रष्टाचार, पार्टीवादी सोच र स्वार्थ, नातावाद, कृपावादले स्वतन्त्रता नै ‘आकाशको फल आँखा तरी मर’ भन्ने मनोवैज्ञानिक पीडा छँदै छन् । सूक्ष्मातिसूक्ष्म कामका लागि सरकारी कार्यालयमा हुन् या त निजीमा आखिर निरीहका आवाजमा साँच्चै पीडादायी जलन छन् । कर्मचारीतन्त्र, व्यक्तिको आनीबानीका कारण बोल्न नसक्ने र कुनै पार्टीगत शक्तिलाई भिरेर हिँड्न नसक्ने वा नचाहनेमाथि हस्पिटलदेखि हरेक संवेदनशील कार्यमा समेत हैरानी हुन्छ, पीडा हुन्छ, बेवास्था गरिन्छ ।
बोल्न चाहेर पनि बोल्ने हो भने अप्ठ्यारो पर्ला कि भन्ने डरसँग कर्मचारीको सरुवा, बढुवा, जागिर स्थापनाका खेल चल्छन् । पार्टीलाई गाली गर्ने परम्परा जति भइरहेका छन् सबै अनुशासनहीन व्यवहारका बेथितिले जन्माएको स्वार्थी प्रवृत्ति शिवाय अरू हुनै सक्दैन । संघीय शासनसँग यो मूकपीडाको सुधारप्रति जनताको आशा र अपेक्षा छ । त्यसो त आज पनि ढुक्क भएर सन्तोष मान्ने अवस्था कहाँ छ र ! हातमा सीप, बौद्धिकता या त क्षमता भएका व्यक्तिले बिदेसिनुपरेका सत्यको आकलन नै कहाँ भएको होला त । शक्ति र सामथ्र्यले गाँजेको पद्धतिले शैक्षिक बेरोजगारी र मनोवैज्ञानिक जलन भएका हुन् । अलिकति आशा छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गनेमहायज्ञमा रेखी हालिएको अनुभूत छ । संघीय शासनका लागि यी आशा र अभिलाषाका परिशिष्टमा रहेका मागको सम्बोधनका लागि निर्वाचित नेतृत्वका लागि विशेष मौका हुन् । अब क्षमतावान्ले प्रमाणपत्रलाई सिरानी लगाएर सुत्नु नपरोस् । कुना कन्दरालाई चियाएर अलिकति विकासको बास्ना छर्नु संघीय शासनको सुनौलो अवसर त्यहाँ छ । आगतको घडीले यिनै सपनालाई काँधमा राखेर हिँड्ने ठूलो आशा छ— स्वतन्त्रतासँगै ।
चाहे अभाव होस्, चाहे गरिबी होस्— स्वतन्त्रताको महानतामा दया, मानवता, बन्धुत्वका भाव जागृत हुन्छन् । खान, बस्न र सुत्न त जेलका मानिसलाई पनि दिइन्छ । सुरक्षा व्यवस्था त्यहाँ झनै कडा हुन्छ, आधारभूत आवश्यकता पनि त पूरा भएकै हुन्छन् तर त्यहाँको अभाव रहेछ— स्वतन्त्रता । स्वतन्त्र मुहारमा खुसीको रङ पोतिन्छ । हरेक सजीव प्राणी आफ्नै स्वतन्त्रतामा जिउन चाहन्छ, सर्वश्रेष्ठ प्राणी मानवले न्यायोचित व्यवहार गर्न पनि जान्नुपर्छ ।
बीसौँ शताब्दीतिर नारी स्वतन्त्रताको सम्मानमा घन्किएको बिगुल; समावेशी बगैँचामा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक सहिष्णु सद्भाव सबै क्षेत्र र विषयवृत्तमा स्वतन्त्रताकै चाहना बुलन्द हुँदा रहेछन् । तर, गणतन्त्र नेपालमा त्यसको पनि वर्ग हुँदो रहेछ । गणतन्त्रमा पानीपुरी बेचेर जीवन धान्नेको छोरी र नेताको छोरीको बिचमा वर्ग संघर्ष सुरु भएको छ । एउटीको स्वतन्त्रताको परिभाषा तथा अर्कीको स्वतन्त्रताको परिभाषा फरक पर्दो रहेछ ।
यस्तै, हाम्रो संस्कार, परम्परा अनि प्राचीन इतिहासको रामराज्यदेखि पृथ्वीनारायणले समेत् एकतासँग राज्य एकीकरणको अर्जुनदृष्टिमा स्वतन्त्रतालाई जोड दिएका हुन् । आजको अत्याधुनिक युगमा संघीय व्यवस्थाभित्र हरेक नागरिक हक र अधिकारले समावेशी परिवेशमा स्वतन्त्रताकै विषय सारलाई शिरोधार्य गर्न चाहेको महसुस हुन्छ । हरेक प्रतिभाले स्वतन्त्रतामै जाग्न पाउँछन् । अवसरको ढोका स्वतन्त्रताबाटै उघ्रिन्छ । अर्बौं डलरमा किन्न नसकिने खुसीको प्राप्ति नै स्वतन्त्रताले दिने उपलब्धि रहेछ । स्वेच्छाले राष्ट्रसेवा गर्नेहरूका लागि खुलेर आफ्नो पौरख र पुरुषार्थ प्रदर्शन गर्ने सबल मार्ग प्रशस्त गराउँछ । बजारमा प्रतिस्पर्धा बढ्छ । तर सरकार अन्धो छ र बहिरो छ, माक्र्सका भाष्य भाषणमा मात्र छन्, व्यवहारमा नयाँ कुलिन वर्गको जन्म भएको छ ।
शाषक वर्गमा सत्ता र भ्रष्ट्राचारको अखडालाई सहज बनाइदिएका पक्षमा कानुनको गाँठो भने कडा हुनैपर्छ । हाम्रो जस्तो मुलुकमा असचेतता र अशिक्षाका कारण अल्पसङ्ख्यकका समस्या ओझेलमा पर्ने डर हुने हुनाले व्यक्तिगत समस्यामा जान संघीय शासन दह्रो बन्नुपर्ने हो । तर संघीयता नै विवादमा पर्ने गरी केन्द्रीयता हावी भइरहेको छ । गरिबी, महँगीको मार, बेरोजगारीजस्ता समस्याले त आज स्वतन्त्रता नै बाँदरको हातमा नरिवल भएको अनुभूति गरेका पीडादायी यथार्थ छँदै छन् । सुविधाभोगी मपाइँत्व बढ्दा राष्ट्रहितको नाममा व्यक्तिगत स्वार्थले सीमा मिचे पनि शक्तिलाई स्विकार्नैपर्ने विडम्बनाले राज्य व्यवस्थापनको स्वतन्त्रतालाई धक्का पुराउँछ । राजनैतिक अस्थिरता, अशान्तिपूर्ण आन्दोलन, चक्काजाम, विरोधले भौतिक संरचनामा क्षति पुराइएका घातक कार्यले हुन् या आन्दोलन नगरे कुरै सुनुवाइ नहुने समस्यालाई नियाल्दा जनताको सुनुवाइ हुने विभाग नै खडा गरी न्यायोचित संयोजन गर्नुपर्ने अवस्थामा सचेतनाको आवश्यकता छ । दादावाद बढे समाजको आदर्शमा घात पुग्न जान्छ । सात्विक, निष्पक्ष सेवा गर्नेमा उत्साह मर्छ । आर्थिक तथा सामाजिक, सांस्कृतिक रूपान्तरणमा विकृत पक्षले डेरा नजमाओस् भन्नका खातिर समन्वयकारी मध्यमार्गमा अब त जनताले आन्तरिक स्वरोजगारमा आफ्नो सीप र क्षमतालाई निर्वाध पोख्ने अवसर पाउनुपर्छ । यसर्थ वैयक्तिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, पारिवारिक, नागरिक स्वतन्त्रताजस्ता व्यापक परिधिमा मानवीय सुख, अमन–चैनका पक्ष गाँसिएका हुन्छन् ।
संसारमा अझैँ कठोर शासनको जलनमा जनता आजित छन् । प्रेस स्वतन्त्रताका कुरा, मानवीय हक र विविध अधिकार प्राप्तिका पक्षमा स्वतन्त्रताकै लडाइँ भइरहेका छन् । प्राविधिक विकासका अपेक्षा र पैसाको सर्वोपरीमा अन्धो बन्दै जाँदा आत्मघाती हमला मात्रै होइन, कैयौँ निर्दोष मानवमाथि निर्दयी प्रहार भइरहेका छन् । नेल्सन मन्डेलाले दक्षिण अफ्रिकालाई स्वतन्त्रता दिलाएको धेरै भएकै छैन । अब्राहम लिङ्कनले करिब ४० लाख दासदासीलाई दासत्वको जन्जिरबाट मुक्ति दिलाएर स्वतन्त्रताको सुगन्ध छरे । महात्मा गान्धीले अहिंसा र सत्मार्गको आडमा रहेर अङ्ग्रेजको उपनिवेशबाट भारतमा स्वतन्त्रताको बिगुल घन्काए ।
निर्दोष सोझा जनताले निशानामा परेर जीवनलाई बिनाकारण मृत्युसँग तोल्नुपरेका पीडाको हृदयविदारक दृश्य कति त्रासदीपूर्ण हुन्छ ! कठोर शासन व्यवस्थाबाट उम्केर स्वतन्त्रता प्राप्तिका निम्ति विश्वका मानव अधिकारकर्मी, स्वतन्त्रताप्रेमी तथा यस विषयमा सरोकार राख्ने अनेकौँ संघ–संस्था चिन्तित हुनुपर्ने हो, तर सबै सरकारको मुख ताकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्