Logo

ब्याडमिन्टन खेल्नुका फाइदा

शारीरिक व्यायाम गर्नु स्वास्थ्यका लागि अति आवश्यक कुरा हो । स्वस्थ रहन र शरीरलाई फिट तथा दुरुस्त राख्नका लागि मानिसहरू अनेकौं उपाय अपनाउने गर्छन् । जस्तै खानामा मुख बार्ने, जिम जाने, योगा गर्ने आदि । स्वस्थ आहार खाएर मात्र हामी निरोगी हुन्छौं भन्ने हुँदैन, स्वस्थ रहनका लागि व्यायाम गर्नु पनि अति आवश्यक छ । स्वस्थ खाना खाएका छौं, तर हामी शारीरिक कसरत गर्न अल्छी गरेर खाना खानेबित्तिकै सुत्छौँ , हिँडडुल गर्नमा अल्छी गर्छौं, बिहान ढिला समयसम्म सुत्छौं भने यसले हाम्रो शरीरमा रोग निम्त्याउने गर्छ ।
शरीरलाई जति आराम दियो उति नै रोगको मुखतिर हामी धकेलिने गर्छौं । शरीरलाई जति हामी शारीरिक थकान दिन्छौं उति नै हाम्रो शरीरबाट पसिना बाहिर जान्छ र शरीर फुर्तिलो बनाउँछ । तर, शारीरिक थकानको अर्थ यो हैन कि शरीरमा चोट हुने खालको काम गर्नुपर्छ, यस्तो कदापि होइन । बिहान समयमै उठेर योगा, कसरत गर्न सक्छौं । बिहानीको समयमा हामी दौडने, हिँड्ने, ब्याडमिन्टन, फुटबल, फुटसलजस्ता अन्य शारीरिक व्यायाम गर्न सक्छौं । यदि अति नै व्यस्त छौं भने पनि हामी घरको सिँढी (भ-याङ) १०-१५ चोटि चढ्ने र झर्ने गर्न सक्छौं । यसले शरीरका सम्पूर्ण अंगहरू चलायमान हुनुका साथै शरीरबाट पसिनाको स्वरूप लिएर शरीरको भित्री बोसोलाई घटाउने गर्छ ।
अहिलेका युवा पिँढीहरू अत्यधिक मात्रामा घरबाहिरका खानेकुराहरू, जंक फुड तथा तेलमा तारेको खानेकुरा खाने गर्छन्, जसका कारण अहिलेका युवाहरूलाई सानै उमेरबाट मधुमेह, उच्च रक्तचाप र ग्यास्ट्रिकजस्ता रोगहरूले सताउने गर्छ । विलासिताका साधनहरू बढी प्रयोग गर्नाले पनि मानिसहरू बढी रोगी हुने गर्छन् । थोरै मात्र पनि हिँड्नुपर्ने ठाउँ भएमा आत्तिएर सवारी साधन तथा मोटरसाइकलको प्रयोग गर्छन् । पाँच मिनेटको बाटो हिँड्न अल्छी गरेर हामी मोटरसाइकलको प्रयोग गर्ने गर्छौं । ठूला–ठूला भवनहरूमा हिजोआज लिफ्टको सुविधा हुन्छ, तर लिफ्टको प्रयोग गर्नुभन्दा भ-याङको प्रयोग गर्नु स्वास्थ्यका हिसाबले उपयुक्त हो । त्यसैले शरीरलाई स्वस्थ राख्न र रोग लाग्न नदिनका लागि कसरत गर्नु जरुरी छ ।
यस्तै हिजोआज ब्याडमिन्टन खेल व्यापक रूपमा जताततै खेलेको देख्न पाइन्छ । प्रायः मानिसहरू आफ्नो आफ्नो ब्याट बोकेर बिहानको समयमा ब्याडमिन्टन खेल्न हिँडेको देखिन्छ । ठाउँठाउँमा ब्याडमिन्टन खेल खेल्नका लागि ब्याडमिन्टन कोर्टहरू पनि बनाइएको देखिन्छ । यसरी ब्याडमिन्टन खेल्ने गर्नाले शरीरको तौल घटाउन मद्दत त गर्छ नै, यसले मानिसलाई सही समयमा सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्न पनि मद्दत गर्छ ।
जसरी खाना र कसरत शरीरका लागि आवश्यक छ त्यसरी नै शरीरलाई आराम र निद्रा पनि चाहिने गर्छ । त्यस्तै ब्याडमिन्टन खेल्दा पूरै शरीरलाई बल पर्ने हुँदा शरीरको राम्रोसँग व्यायाम हुने गर्छ । दैनिक एक घण्टा ब्याडमिन्टन खेल्दा शरीरबाट ४ सय ५० देखि ५ सय क्यालोरीसम्म बोसो नष्ट हुने हुँदा एक महिनामा करिब चार किलो तौल घट्ने हुन्छ । ब्याडमिन्टन खेल्दा शरीरका प्रायः सबै मांसपेशीहरूको प्रयोग हुने गर्छ । ब्याडमिन्टनले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने कुरालाई विभिन्न अध्ययनहरूले समेत देखाइसकेको छ । ब्याडमिन्टन खेल्दा शरीरका मांसपेशीहरू बलियो हुने, हड्डीहरूलाई मजबुत बनाउने, मेटाबोलिजम बढाउने, मुटु, मिर्गौला तथा कलेजोजस्तो शरीरका महत्वपूर्ण अंगहरू स्वस्थ राख्न सहयोग गर्छ । ब्याडमिन्टनले रक्तचाप कम गर्ने, सुत्दा घुर्ने समस्या कम गर्ने, काममा ध्यान केन्द्रित गर्न मद्दत गर्ने तथा शरीरबाट हानिकारक टक्सिनहरूलाई पसिनाको माध्यमबाट निकालेर शरीरलाई हलुका र फिट राख्न मद्दत गर्छ ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्