नेप्सेमा हरेक दिन रेकर्ड «

नेप्सेमा हरेक दिन रेकर्ड


सेयर बजारमा पछिल्लो केही समय नयाँ रेकर्ड कायम भइरहेका छन् । लगानीकर्ता थपिनु, कोरोनाका कारण अन्य लगानीका क्षेत्र सुस्ताउनु, प्रविधिका कारण बजार विस्तार हुनु तथा पछिल्ला महिनामा सस्तो ब्याजदरका कारण सेयर बजारले हरेक दिन नयाँ रेकर्ड राखेको हो ।
कोभिड–१९ महामारीको असरले उद्योग–व्यवसाय पुरानो लयमा अझै फर्किन सकेको छैन । यसका कारण सर्वसाधारणदेखि उद्योगी–व्यवसायीसम्म सेयर बजारमा लगानी गर्न आकर्षित भएका छन् । जसका कारण सेयर बजारको मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले दिनहुँ नयाँ रेकर्ड कायम गर्न थालेको छ ।
मंगलबार नेप्से १५.७२ अंकले बढेर २६७४.४६ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अंक हो । गत फागुन पहिलो साता पनि नेप्से सूचकले लगातार रेकर्ड कायम गरेको थियो । फागुन ४ गते २५८६.१ अंकको रेकर्ड कायम गरेको नेप्से क्रमशः बढ्दै फागुन ९ गते २६४० विन्दुसम्म पुगेर थियो ।
नेप्सेले आइतबार २५.७१ अंकले बढेर २६५७.६१ अंक र सोमबार १.१३ अंकले बढेर २६५८.७५ अंकको रेकर्ड कायम गरेको थियो ।
नेप्सेको वृद्धिसँगै धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुको पँुजीकरण पनि देशको कुल गार्हस्थ्य उत्पादनको हाराहारीमै पुगेको छ । मंगलबार सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण हालसम्मकै उच्च कायम भई ३६ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
कोभिडको प्रभावले देशमा आर्थिक गतिविधि सुस्ताएकाले सेयर बजारमा उत्साह देखिएको बताउँछिन् नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल । “कोभिडका कारण डेढ वर्षदेखि आर्थिक क्षेत्र माथि उठ्न सकिरहेको छैन। त्यसले गर्दा सर्वसाधारणदेखि उद्योगी–व्यवसायीले समेत पुँजी बजारमा लगानी बढाएका छन्,” उनले भनिन् ।
पछिल्लो समय विभिन्न कम्पनीहरुको साधारण सेयर (आईपीओ) ले समेत पुँजी बजारमा सर्वसाधारणलाई आकर्षित गरेको पोखरेलको अनुभव छ । “१५ लाख लगानीकर्ता रहेको बजारमा एक वर्षमा लगानीकर्ता दोब्बर भन्दा बढी भएर ३५ लाख पुगेका छन्, यसले बजार बढाउन सघाएको छ,” पोखरेलले भनिन् ।
पछिल्लो समय साधारण सेयरमा आवेदन दिनेदेखि लिएर दोस्रो बजारको सेयर कारोबार समेत अनलाइनबाटै गर्न सकिने भएको छ । जसका कारण लगानीकर्ताले देश–विदेशबाटै सेयर बजारमा कारोबार गर्न पाएका छन् ।
यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्था सहज हुँदा ब्याजदर सस्तो भएका कारण पनि सेयर बजार बढ्न सघाएको लगानीकर्ताहरुको तर्क छ । मंगलबार बजारमा २१३ कम्पनीको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४७ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन होटल तथा पर्यटन २०५.७९, विकास बैंक २९.९७, जलविद्युत ११४.०५, उत्पादनमूलक १८३.९१, लघुवित्त ६४.१९, सामूहिक लगानी कोष ०.०२, लगानी २.७२ अंकले वृद्धि हुँदा बैंकिङ ०.५९, व्यापार ४३२.२५, वित्तीय ३.३६, निर्जीवन बिमा २८७.७६, अन्य ३.९, जीवन बिमा १९१.४२ अंकले घटेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्