अजोड इन्स्योरेन्सको धितोपत्र कारोबार जाँचबुझ

अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बोर्डमा प्राप्त गुनासा सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा बोर्डले ०७७ चैत १८ गते सोसम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको थियो ।
धितोपत्र बजारले ०७७ चैत १९ गतेको पत्रमार्फत अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने सूचना प्रकाशन अघि नै ०७७ चैत १६ गते भएको धितोपत्र कारोबारमा १० प्रतिशत वृद्धि भई सर्किट लागेको भनी सो कारोबारसम्बन्धी विवरण बोर्डमा पेस गरेको छ । यसै सन्दर्भमा उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन-अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले बोर्डका निर्देशकको संयोजकत्वमा सोमबार एक उप–समिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको र यस सम्बन्धमा कुनै भित्री कारोवार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने व्यहोरा जानकारी गराउँदछौं ।