Logo

भक्तपुरका स्थानीय जात्रा नरोकिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, मास्क वितरण गर्नेलगायतका तयारी गरेको बताएका छन् ।
भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले मानव जीवन रक्षा नै प्रमुख कारण भएकोले यस वर्षको बिस्केट जात्रा सामान्य पूजाआजामा सीमित गर्ने निर्णय भइसकेको बताउँदै कोभिड संक्रमण जोखिमका कारण जात्राहरूमा भीडभाड हुने कार्य नगरिदिन आग्रह गरे ।
बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले सदियौंदेखि चलिआएको जात्रा र परम्पराहरूको विशेष महत्व हुने बताउँदै सन्तुलित ढंगबाट नजिकिँदै गरेको बिस्केट जात्रा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताइन् ।
त्यस्तै गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले संस्थानले बिस्केट जात्रासँग सम्बन्धित सम्पूर्ण दायित्व पूरा गरेको बताउँदै जात्राको समयमा कुनै पनि किसिमको लापरबाही गर्न नहुने बताए ।
जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवाले छिमेकी मुलुकबाट नेपाल भित्रिनेहरुबाट कोभिड संक्रमण बढिरहेको अवस्थामा भीडभाड हुने जात्रा पर्वको समयमा सबैजना सुरक्षित रहन आग्रह गरे ।
बैठकमा सहभागीहरुले बिस्केट जात्रासँग सम्बन्धित इन्द्रायणी, बाराही, ज्याथा गणेश, भैरवनाथ, ब्रम्हायणी, माहेश्वरी, कुटी प्वाक गणेशलगायत स्थानीय जात्राहरू शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गर्ने विषयमा आ–आफ्नो राय–सुझावहरू दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्