पर्ती जग्गा बेचबिखन हुँदा स्थानीय निकाय मौन

पोखरामा पर्ती जग्गा बेचबिखन भएको छ ।
पोखरा महानगरपालिका–१५ स्थित चिन्तेतरी भन्ने ठाउँमा करिब ३१ रोपनी पर्ती जग्गा विगत केही समयदेखि अवैध रूपमा बेचविखन हुँदै आएको स्थानीयले बताएका छन् । स्थानीय नवल सिंह भण्डारी, उनका छोरा शिवबहादुर भण्डारी, र नाति अमृत भण्डारीले उक्त जग्गा आफू खुसी तम्सुक बनाई व्यक्ति व्यक्तिलाई जनही ४ लाख ५० हजारदेखि ६ लाखसम्ममा बिक्री गर्दै आएको स्थानीयको दाबी छ । चिन्तेतरीको कित्ता नम्बर २ सय ९६ को क्षेत्रफल ३१ रोपनी जग्गामध्ये केही भागमा करिब ५० वटा घरटहरा निर्माण भएको नाम नबताउने सर्तमा एक स्थानीयले बताए ।
उक्त जग्गामा चार किल्ला नखुलेको व्यक्तिको नाममा दर्ता गर्न नमिल्ने भनी सर्वोच्च अदालत र साविक पश्चिमाञ्चल क्षेत्रीय अदालतले समेत फैसला गरेको छ ।
२०३२ साउन १५ गते क्षेत्रीय अदालतका मुख्य न्यायाधीश ओमभक्त श्रेष्ठ र न्यायाधीश इन्द्रलाल पाण्डेबाट उक्त जग्गाको विषयमा नवलसिंह भण्डारीले आफ्नो नाममा दर्ता गरी पाउँ भन्ने निवेदनको आधारमा दर्ता गराउने कुनै आधार नभएको उल्लेख छ । साविक छिनेडाँडा ९ को कि.न.२९६ को जग्गा नवलसिंह भण्डारीले दर्ता गरी पाउँ भन्ने निवेदनको आधारमा दाबी गरिएको जग्गा चार किल्ला र यो यति पाउँसमेत स्पष्ट नभई कि.नं.सम्म खुलाई दाबी गरेको देखिएको सो दाबी गरेको जग्गाको नक्सा झिकाई भिडाई हेर्दा दाबी गरेको कि.नं. हो भन्ने भिड्न मिल्न नआएकोले दर्ता गर्न नमिल्ने नगर विकास योजना नापीसम्बन्धी विशेष अदालत र समितिले उक्त निर्णय गरेको हो ।
भण्डारी परिवारले उक्त जग्गा भोगचलन गर्दै आएकाले उक्त जग्गा आफूहरूकै भएको अमृत भण्डारीले दाबी गरेका छन् । उक्त जग्गा प्राप्तिका लागि हाल सर्वोच्च अदालतमा मुद्दा हालेको उनले जनाए । हालसम्म करिब १५ घर परिवारका लागि मात्र आफूहरूले तम्सुक गरी पोखरा–१५ को पर्ती जग्गा बेचबिखन गरेको शिवबहादुर भण्डारीका नाति अमृत भण्डारीले बताए । लालपुर्जा प्राप्तिका लागि हजुरबादेखि पहल हुँदा हालसम्म प्राप्ति नभएको उनले गुनासो गरे ।
पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश पौडेलले कसैले भ्रमवश अवैध रूपमा पर्ती जग्गा बेचबिखन गरे उनीहरू उपर कारबाही गर्ने चेतावनी दिएका छन् । सार्वजनिक जग्गा अतिक्रमण नगर्न ठाउँठाउँमा सूचना टाँस गर्दै आएको उनले बताए । केही सयमअघि ५० वटा अतिक्रमण भएका घरटहरा हटाएको अध्यक्ष पौडेलले बताए । शिव शक्तिटोल, निर्मल टोल, पट्नेरी लगायतका सार्वजनिक ठाँउमा आफूहरू निर्वाचित भएर आएभन्दा अघिदेखि फाट्टफुट्ट रूपमा बसोबास भएको उनले जनाए ।
स्थानीय त्रिभूवन पौडेलले विगत एक दशकअघि करिब ६० हजारमा ४ आना जग्गा भण्डारी समुदायसँंग लिएर बस्दै आएका छन् । यसपालि लालपुर्जा पाउने आशामा वडामा निवेदन दिएका उनले हाल आफूहरू बसेको स्थानमा पर्ती जग्गामा करिब ५० घरधुरी पुगेको बताए ।