साकार भयो काठमाडौंवासीको सपना «

साकार भयो काठमाडौंवासीको सपना

स्व. कृष्णप्रसाद भट्टराईको नामसँग जोडिएको नाम हो— राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना । उहाँले तीन दशकअगाडि सार्नुभएको महत्वपूर्ण निर्णय, गर्नुभएको अठोट एवं संकल्प तीन दशकपछाडि आएर सफलता प्राप्त गर्न सफल भएको छ, जसलाई काठमाडौं उपत्यकावासी र सिंगो देशले नै स्वागत गरेको छ । अव्यवस्थित सहरीकरण मौलाउँदै जाँदा काठमाडौं उपत्यकाका तीन जिल्लामा खानेपानी आवश्यकतालाई मध्यनजर गर्दै स्व. प्रधानमन्त्री भट्टराईले मेलम्ची खानेपानी आयोजनाको आवश्यकता महसुस गर्दै एक अठोट लिनुभएको थियो, जुन अठोट आज आएर यथार्थमा परिणत भएको छ र तिर्खाएको उपत्यकालाई मेलम्ची खानेपानीले शीतलता प्रदान गरेको छ ।
पछिल्लो समयमा विभिन्न बहानामा मेलम्ची खानेपानी आयोजनाको नाममा राजनीतिसमेत गरियो, विभिन्न बहानामा आयोजना विफल पार्ने काम पनि गरियो, तर देशले लोकतान्त्रिक व्यवस्थाका साथ बनेको स्थायी सरकारले यस आयोजनालाई गतिशील बनाई एक प्रमुख आयोजनाका रूपमा आयोजनाको कामलाई निरन्तरता दिई आजको दिनसम्म आइपुग्दा एक सम्पन्न आयोजना बनाउन सफल भएको छ । कैयौं बाधा–अवरोधका बाबजुत पनि मेलम्चीको खानेपानीलाई काठमाडौं उपत्यकावासीका घरघरमा पु-याउन आज नेपाल सरकार सफल बनेको छ । यस्ता महत्वपूर्ण आयोजनाहरूलाई प्राथमिकताका आधारमा कार्य सम्पन्न गर्दै जानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराउन चाहन्छौं ।
सम्माननीय राष्ट्रपतिज्यूबाट उक्त मेलम्ची खानेपानी आयोजनाको उद्घाटन भई विधिवत् रूपमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रम शुभारम्भ भएको छ । नेपाल र नेपाली जनता सबैले यो आयोजना सम्पन्न हुनुमा गर्भ महसुुस गर्नुपर्छ । सरकारले जनताको दैनिकीलाई दिनानुदिन सहज बनाउनु नै राज्यको प्रमुख कर्तव्य हो । राजनीति गर्ने विषयभन्दा माथि रहेर देशमा निर्माणाधीन आयोजनाहरूको निर्माण सम्पन्न गर्दै देशलाई समृद्ध बनाउँदै लैजानु आजको प्रमुख आवश्यकता रहेको हामीले महसुस गरेका छौं ।
देशले १४ वर्षे जनयुद्धबाट के उपलब्धि ग-यो, त्यसको खास उपलब्धि भनेको धेरै परिवारको भविष्य उजाड भयो, कोही घरबारविहीन भए त कति टुहुरा बने, तर आर्थिक तथा सामाजिक विकास भने शुन्य प्रायः भयो । त्यसैले भोलिका दिनहरूमा पनि देशले जनआन्दोलन कदापि माग्नेवाला छैन । हिजोआज देशको ठूलो राजनीतिक पार्टीमा देखिएको दरारले जनतालाई त्रसित र ग्रसित बनाएको छ । यसबाट माथि उठेर देशको चौतर्फी विकास र निर्माण गर्दै नेतालाई नै जनताले समर्थन गर्दै जाने निश्चित छ । त्यसैले गुटबन्दीको राजनीति, दोषारोपणको राजनीति गरी जनतालाई भ्रममा नपार्न सम्बन्धित पार्टी र तिनका नेताज्यूलाई अपिलसमेत गरिन्छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा विकास–निर्माण भन्दा पनि बढी समय पार्टीको आन्तरिक कहल र गुटबन्दीमा बढी समय खर्च हुन थालेको छ, जसले गर्दा राष्ट्रिय गौरव र राष्ट्रिय महत्व बोकेका आयोजनाहरूको निर्माण सम्पन्न हुन विलम्ब हुँदै गइरहेको छ, जसको मारमा जनता नै पर्ने प्रस्ट छ । त्यसैले राजनीतिक जुँगाको लडाइँलाई भन्दा पनि निष्ठाको राजनीति गर्न, सेवाको राजनीति गर्न र विकास–निर्माण र उत्पादनमूलक कार्यको राजनीति गर्न सरकारमा रहेका र सरकारबाहिर रहेका पार्टीलाई अनुरोध गर्छौं । राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सम्पन्न हुनु पनि मुलुकको एक महत्वपूर्ण उपलब्धि भएकाले यस निर्माण कार्यमा संलग्न सम्पूर्णमा हार्दिक आभार समेत व्यक्त गर्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्