८ महिनामा साढे १९ करोड राजस्व संकलन «

८ महिनामा साढे १९ करोड राजस्व संकलन

जुम्लामा चालु आर्थिक वर्षको ८ महिनामा उत्साहजनक राजस्व संकलन भएको छ । कोभिड त्रासका बीच पनि चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन उत्पाहजनक भएको हो । जुम्लामा चालु आवको ८ महिनामा १९ करोड करोड ५८ लाख ३७ हजार २ सय ५२ रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतले बताए ।
चालु आवको ८ महिनामा १३ करोड ७५ लाख ७५ हजार राजस्व संकलन हुने लक्ष्य राखिएकोमा ६ करोड ८ लाखले बढेर साढे १९ करोड लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।
कर अधिकृत बस्नेतले भने, “चालु आवमा जुम्लामा २५ करोड ६० लाख १० हजार बराबर राजस्व संकलन गर्ने लक्ष्य छ । तर फागुन मसान्तसम्म मात्रैको राजस्व संकलन गर्दा जेठसम्मको लक्ष्यको तुलनामा पुगेको छ ।”
जुुम्लामा आन्तरिक राजस्व कार्यालयको स्थापनापछि करदाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजस्व संकलन उत्साहजनक रुपमा भएको कर अधिकृत बस्नेतले बताए । विगतका भन्दा व्यवसायी उद्योगीहरु करको दायरामा आउने क्रममा पनि बढेको छ । हाल व्यक्तिगत प्यान, व्यावसायिक प्यान र डब्लु प्यान लिनेको संख्या पनि अत्यधिक बढेको छ ।
आन्तरिक राजस्व कार्यालय स्थापना भएको दुई वर्षमै सेवा सँगै करदाता शिक्षा तथा नियमन र अनुसन्धानमा जोड दिएकोले राजस्व संकलनले गति लिएको छ । हालसम्म जुम्लाका ९ हजार १ सय ७० जनाले व्यावसायिक प्यान लिएका छन् । जसमध्ये ११ सय ४१ जना व्यवसायी मात्रै भ्याटमा दर्ता भएका छन् । ७ हजार ५ सय २५ जनाले हालसम्म व्यक्तिगत प्यान लिएको तथ्यांकले देखाएको छ ।
आन्तरिक राजस्व कार्यालय जुुम्लाले विभिन्न २५ वटा शिर्षकमा कर संकलन गरेको छ । कर्णालीका जुम्ला, मुगु र कालिकोट कार्यक्षेत्र रहेको राजस्व कार्यालयले चालु आवको ८ महिनामा कोभिडकै समयमा पनि साढे १९ करोड राजस्व संकलन गर्नुले कर्णालीमा आर्थिक गतीविधि विगतको तुलनमा बढेको स्पष्ट छ ।
तथ्यांक अनुसार सबैभन्दा बढी परामर्श तथा ठेक्का तर्फको मूल्य अभिवृद्धि कर ६ करोड ४९ लाख ३५ हजार ७ सय रुपैया राजस्व उठेको छ । यस्तै पारिश्रमिक करतर्फ ४ करोड १७ लाख ३२ हजार २ सय, एकलौटी फर्म तथा व्यक्तिगत आयकरतर्फ ३ करोड ५७ लाख १६ हजार ७ सय, सामाजिक सुरक्षातर्फ १ करोड ६७ ३९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
व्यवासायी तथा आम नागरिक नागरिकलाई करको दायरामा ल्याउन गाउँगाउँमा करदाता शिक्षा सञ्चालनको तयारीमा रहेको कर अधिकृत युवराज बस्नेतले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले कर छलेको, कर नदिएको, आम्दानी लुकाएको सूचना दिँदा पनि कर तिर्न ढिला सुस्ती गरेको सबै कुरा अनलाईनबाटै अनुसन्धान गरी फर्म तथा व्यवसयालाई ब्लक गर्न मिल्ने व्यवस्था भएकाले पनि राजस्व संकलन उल्लेखीय रुपमा वृद्धि भएको कर अधिकृत बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्