वैधानिक रुपमा औद्योगिक कोरिडोरको मान्यता प्रदान गर्न आग्रह
वीरगञ्ज उद्योग वाणिज्य संघले पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको हालको अवस्था बारे अवगत गराउँदै यस औद्योगिक कोरिडोरलाई वैधानिक रुपमा औद्योगिक कोरिडोरको मान्यता प्रदान गर्न आग्रह गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताको अध्यक्षतामा संघको निर्वाचन तथा पद बहाली पश्चात् जनकरपुरमा प्रदेश–२ का मुख्यमन्त्री महम्मद लालबाबु राउतसँग भेट गर्दै पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको हालको अवस्थाबारे अवगत पनि गराएको छ ।
पर्सा तथा बारा औद्योगिक कोरिडोरलाई वैधानिक रुपमा औद्योगिक कोरिडोरको मान्यता प्रदान गर्नुका साथै प्रदेश–२ रोजगारी सृजना, कृषिमा आत्मनिर्भरता, औद्योगिक क्रान्ति, प्रदेश–२ को अर्थतन्त्र निर्यातमुखी बनाउने, उद्योग, व्यवसायमुखी बैकिङ नीति, नेपाल तथा भारतको व्यापारिक सम्बन्धलाई अझै सुमधुर बनाउने, कृषि क्रान्तिका लागि “हर खेत में पानी और हर हात में काम” प्रदेश सरकारको नारालाई मूर्त रुप दिनुका साथै प्रदेश–२ सञ्चालनमा रहेका विकास निर्माणका परियोजना फास्ट ट्रयाक, हुलाकी राजमार्ग, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, मुख्य मुख्य राजमार्गहरुलाई ६ लेनमा स्तरोन्नति गरिनु पर्ने तर्फ ध्यानाकर्षण गराएका थिए ।
सोही अवसरमा मुख्यमन्त्री राउतले संघले अघि सारेका कृषि, औद्योगिक, व्यवसायिक, रोजगारी, विकास निर्माण सम्बन्धी मुद्दाहरुलाई प्रदेश सरकारको मातहतमा रहेका प्रदेश सरकारले पहल गर्ने तथा संघीय सरकारका मातहतका परियोजनालाई संघीय सरकार समक्ष परियोजनालाई प्रभावकारी र शीघ्र सम्पन्न गराउन पहल गर्ने बताउनु भएको थियो ।
भ्रमण टोलीमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल केडिया, संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपालको सहभागिता रहेको थियो ।