Logo

७२ हजार केजी अखाद्य चिनी नष्ट गरिँदै

बारा- तस्कर, कर्मचारी, दलका नेताहरुले एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्न चलखेल गरेको ७२ हजार केजी अखाद्य चिनी सोमबार नष्ट हुने भएको छ ।
तस्करहरुको चर्को दवावमा १ वर्षदेखि पटक–पटक नमुना परीक्षण गरेर सेवनयोग्य बनाउने चलखेल गरिएको उक्त चिनी दवाव र कर्मचारीको मिलोमतोमा सेवन योग्य बनाउन राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथो पटक पठाएको नमुना परीक्षण गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेपछि नष्ट गरिएको हो ।
विगत एक वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको ७२ हजार केजी चिनी २०७६ फागुन २५ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भनेको भारतीय चिनी मिलेमतोमा जलेश्वर भन्सारबाट नेपाल भित्रिएको थियो ।
गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी चैत ६ गते प्रमाणित गरेको पत्र राजस्व अनुसन्धान पथलैयालाई पठाई अखाद्य चिनी नष्ट गर्न अनुमति दिएको हो ।
अनुष्का मल्टिपर्पोजले गत वर्ष फागुन २५ गते भारतबाट आयात गरेको चिनी छोटो दूरीको वीरगञ्ज र भैरहवा भन्सार छोडेर महँगो भाडा तिरेर महोत्तरीको जलेश्वर भन्सार प्रयोग गरेर नेपाल भित्र्याउँदै गर्दा ठूलो दवाव सृजना भएपछि राजस्व अनुसन्धान पथलैयाले नियन्त्रणमा लिन बाध्य भएको थियो ।
राजस्व अनुसन्धान पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक पाण्डेले सेवन गर्न अयोग्य प्रमाणित भएको चिनीलाई अदालतले आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएकाले नष्ट गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्