क्यान्सर उपचारमा नर्भिकको व्यवस्थापन
विभिन्न प्रकारका क्यान्सरको सबैखाले उपचार विधि र पद्धति विकासमा लागिपरेको नर्भिक इन्टरनेशनल हस्पिटलमा ट्यूमर बोर्ड गठन भएको छ । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्यूमर बोर्ड गठन भएको हो ।
क्यान्सरका बिरामीलाई सम्भावित उत्तम उपचार विधिमा समावेश गर्ने उद्देश्यले गठित ट्यूमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरु सहभागी छन् । बोर्डको आकार बढाउँदै लगिने अस्पतालले जनाएको छ ।
कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने गर्दछ । बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरुको राय भिन्न भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरु बताउँछन् ।
नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार बोर्डमा सहभागी विशेषज्ञहरुले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रुपमा छलफल गर्ने गर्दछन् । कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिक रुपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोसिस गरिन्छ । बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरुको विषयमा समेत छलफल हुने डा. झा बताउँछन् ।
सो क्रममा कुनै पनि क्यान्सरका बिरामीमा पहिचान भएको ट्यूमरको ग्रेडिङको विषयमा छलफल गरिन्छ । सोसँगै उपयुक्त उपचार विधिको विषयमा समेत बोर्डले निर्णय लिने गर्छ ।