उपत्यका प्रवेशमा कडाई
कोभिड–१९ का संक्रमित बढ्दै गएसँगै सरकारले काठमाडौं उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।
काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले उपत्यका प्रवेश गर्ने नाकामा स्थानीय तह र स्वास्थ्य मन्त्रालयको समन्वयमा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौं जिल्लाका सहायक प्रमुख अधिकारी जनकराज भट्टले बताए ।
सोमबार बसेको समितिको बैंठकले उपत्यकामा कोभिड–१९का संक्रमितको संख्या वृद्धि हुन नदिन यस्तो व्यवस्था गरेको भट्टको भनाइ छ । उनले भने, “उपत्यका प्रवेश गर्ने नाकामा नगरपालिकाले हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण गरेर मात्र उपत्यका प्रवेश गर्न दिने निर्णय भएको छ ।” यसको लागि स्वास्थ्य सामग्री र किट स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने र जनशक्ति स्थानीय तहले व्यवस्थापन गर्ने उनले बताए । यसरी एन्टिजेन परीक्षण गर्दा शंकास्पद लागेमा पीसीआरको लागि स्वाब परीक्षण गरिनेछ ।
सरकारले सडकमार्ग हुँदै उपत्यका प्रवेश गर्नेको हकमा परीक्षणमा कडाइ गरेको भए पनि हवाई मार्ग हुँदै उपत्यका प्रवेश गर्नको हकमा भने कुनै निर्णय गरेको छैन ।
विमान कम्पनीहरुले सबै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर यात्रु सवार गर्ने भएकोले गर्दा कुनै अर्को निर्णय नभएको उनको भनाइ छ । हाल विमान कम्पनीहरुले यात्रुको विवरण संकलन गरी विमानस्थलमानै रहेको हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरी यात्रु उडाउँदै आएका छन् ।
साथै सबै स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने भएको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोभिड–१९को संक्रमित बढेसँगै सरकारले सचेतना बढाउने निर्णय गरेको छ ।