धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने दाबी «

धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने दाबी


आगामी वर्ष धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने भएको छ ।
बंगलादेशबाट आयात गरिएको २२ हजार ५ सय टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेकाले अभाव नहुने देखिएको हो । सरकारले समयमा मल आयात नगर्दा वर्षेनी किसानले धान रोप्ने समयमा मलको अभाव खेप्दै आएका थिए । यो वर्ष भने समयमा मल आयात हुँदा मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत खरिद गरेको पहिलो चरणको २२ हजार ५ सय टन मल नेपाल भित्रिएपछि बजारमा मलको अभाव हटेको हो । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले पहिलो चरणमा बंगलादेशबाट आयात गरिएको मल वितरण गरिसकेको जानकारी दिए । कम्पनीसँग पर्याप्त मल मौज्दात रहेको र बाँकी आउने क्रममा रहेकाले यो वर्ष धान रोप्ने बेला बजारमा मलको अभाव नहुने उनको भनाइ छ । कम्पनीका अनुसार दोस्रो चरणका लागि प्रक्रिया अगाडि बढाइसकेकाले यो महिनाको अन्तिम सातामा मल उताबाट पठाइन्छ । १८ हजार मेट्रिक टन मल स्टक रहेको कम्पनीले जानकारी दिएको छ । हाल बजारमा दैनिक एक हजारदेखि १२ सय मेट्रिक मल खपत भइरहेको छ ।
नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको ५० हजार मेट्रिक टन मलमध्ये पहिलो खेपमा २५ सय ४० मेट्रिक मल गत फागुनमा वीरगन्ज भन्सारमा आएको थियो । त्यसपछि क्रमिक रुपमा आयात हुँदै २० दिनमा नेपाल भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
५० हजार मेट्रिक टनमध्ये पहिलो चरणको आधा मल नेपाल भित्रिसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा १० हजार मेट्रिक टन र तेस्रो चरणमा १७ हजार ५ सय मेट्रिक टन आयात गर्ने भएको छ । दोस्रो चरणको मल नै वैशाखको दोस्रो सातातिर नेपाल भित्रने कम्पनीले जानकारी दिएको छ । चालू वर्षको अन्तिमसम्म ५० हजार मेट्रिक टन मल आयात गरिसक्ने कम्पनीको भनाइ छ ।
गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसँग जीटुजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो । नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।
मुलुकमा वार्षिक सात लाख मेट्रिक टन रासायनिक मलको माग छ । माग अनुसार मलको आयात नहुँदा किसानले धान रोप्ने सिजनमा मलको अभाव खेप्दै आएका छन् ।
यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न लागि ११ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्