कर्णालीको सरकारबाट एमालेका मन्त्री फिर्ता हुने
सुर्खेत-कर्णाली प्रदेश सरकामा नेकपा एमालेबाट सहभागी मन्त्रीहरु सरकारबाट फिर्ता हुने भएका छन् ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आइतबार बसेको बैठकमा सरकारबाट मन्त्रीहरु फिर्ता हुने निर्णय भएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सरकारलाई समर्थन लिने निर्णय भएबमोजिम मन्त्रीहरु फिर्ता हुने निर्णय भएको बताए ।
२४ घण्टा भित्रमा सरकारबाट फिर्ता हुने निर्णय भएको विषय चर्चामा आए पनि समयका बारेमा भने सचेत शाहाले खुलाएका छैनन् । ‘मन्त्रीहरु पनि दलको बैठकमा सहभागी हुनुभएको १९ जना सांसदहरु नै सहभागी हुनुभएको छ,’ शाहले भने, ‘राजीनामा दिने कुरा लिखित सहमति भएको हो । यतिउति समयमा नजाउँ ।’ सामाजिक विकास मन्त्री दल रावलले भने बैठकले सरकारबाट छिटो फिर्ता हुने निर्णय गरेको र त्यस विषयमा आफूहरुले सल्लाह गरिरहेको बताए ।
यसअघि चैत ४ गते सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्दा केपी शर्मा ओली खेमाका सांसदहरु मात्र सहभागी भएकामा आइतबारको बैठकमा भने सबै सांसदहरु सहभागी भएका छन् । हाल एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् ।
संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले पुन २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने निर्णय पनि गरेको छ । यता, संसदीय दलका नेता यामलाल कँडेलले चैत ४ गते भएको निर्णयमा हेरफेर नभएको बताए । बैठकले दलको विधान निर्माणको लागि समिति बनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको विधान मस्यौदा समिति बनाइएको हो ।
२४ गतेको वैठकमा समितिले विधान पेश गर्नेछ । नेकपा एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेकाले अविलम्ब मार्गप्रशस्त गर्नका लागि आग्रह गरिएको पनि सचेतक शाहले बताए । नेकपा एमालेलाई एक ढिक्का एक भएर अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
माओवादीद्वारा सासंद रेग्मीलाई कारबाहीका लागि सिफारिस
नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाका सदस्य धर्मराज रेग्मीले दल त्याग गरेर एमालेमा प्रवेश गरेको सूचना प्रदेशभा सभा सचिवालयमा दिएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड र प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले पार्टी तथा दलको तर्फबाट गरेका निर्णय र आवश्यक कागजातसहित सचिवालयमा दिइएको हो ।
दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य रेग्मी साबिक नेकपा विभाजनका बेला केपी ओली पक्षमा लागेका थिए । उनी सर्वोच्चको फैसलाले माओवादी केन्द्र ब्युँताएपनि प्रचण्डसँग नलागी ओली पक्षमै रहने घोषणा गरेका थिए । रेग्मीले पदको माया नभएको भन्दै एमालेमै रहने निर्णय गरेपछि उनलाई एमालेले कर्णाली प्रदेश कमिटीको सचिव बनाएको छ । रेग्मीको प्रदेशसभा सदस्य पद रिक्त गराउन माओवादीले दल त्याग सम्बन्धी सूचना दिएको हो ।
यसैबीच सभामुख राजवहादुर शाहीले सचिवालयमा पत्र दर्ता भएको र दल सम्बन्धी ऐन अनुसार कानुनी रुपमा अघि बढाइने बताएका छन् । राजनीतिक दल सम्बन्धी ऐन अनुसार कुनै सांसदले वा प्रदेशसभा सदस्यले दल त्याग गरेर अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने भनेको छ । रेग्मीको पद रिक्त भएमा कर्णालीमा माओवादीको १२ सिट कायम रहनेछ भने एमालेको २० सिट छ ।