Logo

२३ हजार पशुको बिमा

 गोरखामा एक वर्षमा करिब २३ हजार पशुको बिमा गरिएको छ । जिल्लामा पशु बिमा गराउँदै आएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अनुसार गत आर्थिक वर्ष ३ हजार ७ सय ३२ घरको २२ हजार ९ सय ८० पशुको बिमा गरिएको छ । किसानले व्यावसायिक रूपमा पशपालन गर्ने क्रम बढेसँगै पशुुबिमा गराउने संख्या पनि बढ्दै गएको इन्स्योरेन्सका जिल्ला प्रतिनिधि शंकर कुँवरले जानकारी दिए ।
“गत वर्षदेखि जिल्लामा पशुबिमा गराउनेको संख्या बढेको छ,” उनले भने, “पशुबिमामा सरकारले अनुदान दिन्छ भन्ने बुझेका किसानहरू व्यावसायिक रूपमा अघि बढ्न पनि बिमा गराएका छन् ।” बिमा गरिएका पशुमध्ये खसीबोकाको संख्या धेरै छ । गत आर्थिक वर्ष बिमा गरिएका करिब २३ हजार पशुमध्ये खसीबोकाको संख्या मात्र १६ हजार ६ सय ७५ छ । यस्तै, २ हजार ४ सय ४५ गाईगोरु र २ हजार २ १९ भैंसी राँगाको बिमा गरिएको छ । जिल्लाका दुई नगरपालिका र ९ वटै गाउँपालिकाका किसानहरूले पशुबिमा गराउने क्रम बढेको कुँवरले बताए ।
उनका अनुसार चुमनुब्री गाउँपालिकाका १ सय ७४ खच्चड र बारपाक सुलिकोट गाउँपालिकाको ९ सय ३५ भेडाको पनि विमा गराइएको छ । विमा गरिएका पशुधनको कुल मूल्य ३० करोड २५ लाख २८ हजार ३ सय रुपैयाँ छ । पशुबिमा गराउन चाहने किसानलाई बिमा शुल्कको ७५ प्रतिशत रकम नेपाल सरकारले अनुदान दिन्छ । जसअन्तर्गत सरकारका तर्फबाट ती पशुको बिमाका लागि १ करोड १३ लाख ४४ हजार ८ सय ११ रुपैयाँ अनुदान दिइएको थियो । किसानले बेहोर्नुपर्ने २५ प्रतिशत रकमअन्तर्गत ३७ लाख ८१ हजार ६ सय रुपैयाँ सम्बन्धित पशु धनीले तिरेका थिए । बिमा गराएका पशु मरेका कृषकले कुल मूल्यको ९० प्रतिशत रकम पाउँछन् । पशु चौपाया अनुत्पादक वा अशक्त भएमा भने कुल मूल्यको ५० प्रतिशत रकम बिमा दाबी भुक्तानी पाउने कुँवरले जानकारी दिए ।
बिमा गरिएका चौपाया मरेमा ट्याग नम्बर देखिने फोटो, स्थानीय सर्जमिन मुचुल्का, पशुधनीको निवेदन र मृत्युदर्ता प्रमाणपत्रलगायत कागजका आधारमा बिमा रकम पाइने उनको भनाइ छ । गत वर्ष बिमा गराएकामध्ये ४ सय ५३ पशुधनीले ७० लाख २८ हजार रुपैया विमा दाबी भुक्तानी लिइसकेका बिमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सले जनाएको छ । यो वर्षको वैशाखदेखि पशुबिमा गराएका किसानको २ लाख रुपैयाँबराबरको बिमा हुने व्यवस्था गरिएको कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्