Logo

पाँचथरमा चौथो चौंरी महोत्सव हुने

पाँचथर- उच्चहिमाली क्षेत्रको वन, वातावरण जोगाउँदै फालोट क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने उद्देश्यका साथ वैशाख १ गते चौथो चौरी महोत्सव हुने भएको छ । परम्परागत चौरीपालन हराउँदै गएकोमा फालेलुङ गाउँपालिका अन्तर्गतका सिदीन, प्राङबुङ, मेमेङका चौरीपालक कृषकको अगुवाइमा चौरी महोत्सव हुँदै आएको छ ।
फालेलुङ गाउँपालिकाको सहयोगमा दिपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यटन संस्थालगायतका संस्थाको आयोजनामा महोत्सव हुन लागेको हो । अघिल्लो वर्ष कोभिड–१९ का कारण यो महोत्सव हुन सकेको थिएन ।
फालेलुङ–४ स्थित फालोटमा एक दिने महोत्सव गर्ने तयारी गरिएको फालेलुङ गाउँपालिकाले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । तीन हजार पाँच सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको फालोट, तीन सिमानामा नयाँ वर्षको अवसर पारेर वैशाख १ गते महोत्सव गर्न लागिएको हो ।
दुई वर्ष अगाडिबाट सुरु भएको महोत्सवमा नेपाल, भारत र भुटानबाट पर्यटकहरू महोत्सव अवलोकन गर्न आउने गरेका छन् । चौरी महोत्सवमा पाँच सयभन्दा बढी चौंरी एकैसाथ प्रदर्शन गर्ने तयारी छ । यस क्षेत्रमा २१ वटा चौंरी गोठ छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौंरी गोठहरू घट्दै गएका छन् । गोठमा चौरी घट्ने क्रमसँगै चौरी संस्कृति हराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल राईले जानकारी दिए । महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । वस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चौंरी महोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार १५ हजार पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ ।
वैशख १ लाई राष्ट्रिय चौंरी दिवसको रूपमा क्यालेन्डरमा अटाउने उद्देश्य रहेको हुँदा प्रत्येक वैशाख १ गते महोत्सव आयोजना गरिने आयोजकले बताए । नेपाल भारत सिमानामा रहेको फालोट क्षेत्रमा यस पटक करिब १० हजार बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्