वैशाख एक गते पोखरामा मेयर भेला हुने
पोखरा-नयाँ वर्षको अवसरमा पोखरामा देशभरका मेयरको भेला हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनसहित पोखरामा साइकल ट्रयाकको प्रवद्र्धन गर्न पोखरामा वैशाख एक गते मेयर साइकल दौड प्रतियोगिताको साथमा राष्ट्रिय मेयर सम्मेलनसमेत हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनाम जानकारी गराइएको हो ।
पोखरा महानगरपालिकाले ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ पहिलो पटक उक्त कार्यक्रम आयोजना गर्न लागेको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए । देशभरका ७ सय ५३ वटा स्थानीय तहमा पत्राचार भएकाले उक्त दौडमा करिब २ सयभन्दा बढीको सहभागिता हुने उनले जनाए ।
कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले कोरोनाबाट बच्न र बचाउन आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी उत्त कार्यक्रमको तयारी गरिएको मेयर जिसीले जनाए । वैशाख १ गते पोखरा महानगरपालिकाको कार्यालयबाट सुरु हुने ५ किलोमिटर साइकल दौडमा पोखराका विभिन्न भाग हुँदै हल्लनचोकमा पुगेर समापन हुने उनले बताए । वातावरण संरक्षणमा साइकल उपयुक्त माध्यम भएको र बिना इन्धन चल्ने र शारीरिक कसरतसमेत हुने भएकाले साइकलको प्रवद्र्धन गर्न पनि उक्त कार्यक्रम आयोजना गर्न लागिएको मेयर जिसीले प्रष्ट पारे । उक्त कार्यक्रमले साइकल प्रवद्र्धन, वातावरण संरक्षणमा योगदान पुग्ने र पर्यटन प्रवद्र्धन हुने मेयर जिसीले विश्वास व्यक्त गरे । पोखरा महानगरले पोखरामा करिब ८४ किलोमिटर साइकल ट्रयाकको आवश्यक पूर्वाधार निर्माण गर्न लागेको समेत उनले जनाए ।
कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँंगको सहकार्यमा उक्त कार्यक्रम हुने भएको कार्यक्रम संयोजक पोखरा–१३ का वडाध्यक्ष दर्शन लामाले बताए । उनका अनुसार उक्त साइकल दौड प्रतियोगिताको अवसरमा साइक्लिङका पदक धारीसहितका खेलाडीलाई समेत साइकल -यालीमा सहभागी गराइने भएको छ । पोखरामा करिब ५० वटा स्थानमा साइकल स्ट्याण्ड निर्माण गरिने संयोजक लामाले जनाए ।
यसैबीच, वैशाख एक गते राष्ट्रिय मेयर सम्मेलन पनि पोखरामै हुने भएको छ । स्थानीय निर्वाचन पश्चात स्थानीय सरकार प्रमुख एकै ठाउँमा जम्मा भएर सरकार सञ्चालनको प्रक्रियामा सिकेका सिकाइ अनुभव साटसाट, स्थानीय सरकार सञ्चालन ऐनले पारेको सकरात्मक तथा नकरात्मक प्रभावलगायतको विषयमा छलफल हुने मेयर जिसीले जानकारी दिए । समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न आगामी दिनमा के कस्ता रणनीतिक योजना आवश्यक पर्छ त्यसका बारेमा समेत सम्मेलनमा बहस हुने भएको उनले जनाए । महानगरका सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखरामा १२ वटा वडा जोड्ने गरी ८४ किलोमिटर साइकल ट्रयाक निर्माण गर्न लागिपरेको बताए ।