लगानीका लागि कृषिका प्राथमिकता छुट्याउन माग «

लगानीका लागि कृषिका प्राथमिकता छुट्याउन माग


कृषिमा वैदेशिक लगानी भित्राउँदा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट रुपमा उल्लेख हुनुपर्ने सांसदहरुले बताएका छन् ।
आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् । सरकारले कृषिमा विदेशी लगानी भित्राउने भनिएपनि कुन कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरुले बताएका हुन् ।
समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताए । सांसद अमृतादेवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताइन् । उनले कृषिमा उत्पादन बढाई निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको बताइन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरु स्थापना गर्नका लागि राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्राउन लागेको उनले बताए ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुनेगरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताए । कृषि क्षेत्रमा लगानी गर्न निजी क्षेत्रहरु पनि आकर्षित रहेको सन्दर्भमा त्यस तर्फपनि ध्यान दिनुपर्ने बताए ।
कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ । आगामी बैठकमा अझ बिस्तृत रुपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समितिमा छलफल गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्