सिमेन्टको मूल्यवृद्धि बाध्यात्मक : उद्योगी «

सिमेन्टको मूल्यवृद्धि बाध्यात्मक : उद्योगी

सिमेन्ट तथा छड उद्योगहरूले एकाएक आफ्ना उत्पादनमा मूल्यवृद्धि गरेको भनी व्यापक विरोध भएपछि सिमेन्ट उत्पादक संघले मूल्यवृद्धि बाध्यात्मक भएको जनाएको छ ।

सोमबार सिमेन्ट उत्पादक संघ पश्चिमाञ्चलले विज्ञप्ति जारी गर्दै सिमेन्टका कच्चा पदार्थहरू क्लिन्कर, फ्लाई एस, जिप्समको मूल्य करिब एक महिनादेखि नै वृद्धि भएको, नेपालमा पनि लोडसेडिङ उद्योग क्षेत्रमा कटौती नभएको , डिजल महँगिएको विद्युत् प्राधिकरणले टिओडी चार्जमा बढोत्तरी गरेका कारणले लागत खर्च बढ्न गएको जनाएको छ । त्यसैले नचाहँदा नचाहँदै पनि सिमेन्टको मूल्यवृद्धि गर्नु परेको संघले जनाएको छ ।
“हामीहरूले रहरले होइन बाध्य भएर सिमेन्टको मूल्य लागत बढेअनुसार वृद्धि गरेका हौं, संक्रमणकालीन अवस्थाको फाइदा लिन खोजेको कसैले भन्छ भने त्यो गलत हो” विज्ञप्तिमा भनिएको छ । “भारतबाटै क्लिन्कर, फ्लाई एस, जिप्सम आउने हो, उतै भाडा बढेको महिना दिन भइसकेको छ, मूल्यवृद्धिले खर्च लागत बढ्दै जाँदा सिमेन्टको मूल्य बढाउनु परेको हो”, सिद्धार्थ सिमेन्ट उद्योगका महाप्रबन्धक अरुण अग्रवालले बताए ।
सिमेन्ट उत्पादक संघका अनुसार एक महिनामा डिजलको मूल्य पाँच रुपैंया बढेको छ । विद्युत् अनियमित छ । डिजल प्लान्ट चलाउँदा त्यसै महँगो पर्छ । उता विद्युत् प्राधिकरणले टि. ओ. डि. चार्ज ५ रुपैंया २० पैसा लिने गरेकोमा एकाएक वृद्धि गरी ८ रुपैंया ४० पैसा पुराएको छ । यसरी चारैतिरबाट एकाएक मूल्यवृद्धि भइरहँदा सिमेन्ट उत्पादनको खर्च बढ्न जाँदा बाध्य भएर मूल्यवृद्धि गर्नु परेको नेपाल अम्बुजा सिमेन्ट उद्योगका महाप्रबन्धक राजकुमार गुप्ताले बताए ।
बृृज सिमेन्टका महाप्रबन्धक रवि रञ्जन गुप्ताका अनुसार नाकामा असहजता भएका कारण कच्चा पदार्थ लिएर आउने ट्रक, कन्टेनरहरू लामो समयसम्म विनाकारण रोकिन जाँदा त्यस्को डिटेन्सन चार्जसमेत उद्योगले तिर्नुुपर्ने र अहिले प्रतिदिन आठहजार रुपैंया प्रतिट्रक-कन्टेनर डिटेन्सन चार्ज बापत भारतीय पक्षले लिने गरेका कारण पनि सिमेन्ट उद्योगको खर्च लागत बढेको संघले जनाएको छ ।
सिमेन्टको अर्को कच्चा पदार्थ फ्लाई ऐसको मूल्य पहिला भारतीय १६ सय रुपैंया प्रतिटन रहेकोमा अहिले २३ सय भारु पुगेको र जिप्सममा समेत प्रति टन १५ सय रुपैंया वृद्धि भएको छ । कच्चा पदार्थ मात्र होइन ढुवानी खर्चसमेत बढेकाले कि त उद्योग बन्द गर्नुप¥यो नत्र वृद्धि गर्नुको विकल्प नै नभएको सुप्रिम सिमेन्टका महाप्रबन्धक सरोज पौडेलले उल्लेख गरे ।
रिलायन्स सिमेन्टका महाप्रबन्धक ऋषि पन्सारीले आन्तरिक र बाह्य दुबैतर्फ मूल्यवृद्धि, महँगो ऊर्जा बढ्दो ढुवानी खर्च, डिटेन्सन चार्जका कारण लागत बढेकाले मूल्यवृद्धि गर्नु परेको हो । “सिमेन्ट उद्योगहरूको लागत खर्च धेरै बढिरहेको थियो, कात्तिक अन्तिममै बढाउनु पर्ने थियो, तर अहिले हामीहरू बाध्य भयौ” ऋषिले भने ।
भैरहवा क्षेत्रमा मात्र १ दर्जन सिमेन्ट उद्योग रहेका छन् । कपिलवस्तुमा आधा दर्जन र नवलपरासीमा ४ वटा सिमेन्ट उद्योग छन् । देशको कुल सिमेन्ट उत्पादन क्षमताको ४० प्रतिशत सिमेन्ट रूपन्देही, कपिलवस्तु र नवलपरासीमा हुने गरेको छ । गत हप्ता मात्रै छड तथा सिमेन्ट उद्योगहरूले विनाकारण मूल्य वृद्धि गरेको भन्दै रूपन्देहीका हार्डवेयर व्यवसायीहरूले विरोध जनाउँदै बुधबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ज्ञापन पत्र बुझाएका थिए । मूल्यवृद्धि बारे छड उद्योगीहरूले भने केही जनाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्