Logo

होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा राख्न माग


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन् ।
होटल संघ नेपालको ४७औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै मन्त्री ढकालले कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गर्ने बताएका हुन् । पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै के कस्ता कार्यक्रम समावेश गर्नुपर्छ सुझाव दिन व्यवसायीहरुसँग आग्रह गरे । मन्त्री ढकालले व्यवसायीको सुझाव अनुसार नै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले नेपाल सरकारले विगतमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा अगाढि बढाउन गृह कार्यहरु गरेको भएता पनि कार्यान्वयनमा आउन बाँकी रहेकोले यस उद्योगलाई कानुनी तवरबाटै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग बनाई सो अनुसारको सुविधा तथा सहुलियत प्रदान गरी यस्तो विषम परिस्थितिमा सहयोग गर्न आग्रह गरिन् ।
अध्यक्ष राणाले आन्तरिक पर्यटनमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय पर्यटन आगमन पूर्ण अवस्थामा नफर्किएसम्म होटल उद्योगलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी सरकारले अल्पकालिन र दीर्घकालिन रणनीति तर्जुमा गर्न अध्यक्ष राणाको माग छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण पर्यटन क्षेत्र थलिएको भन्दै सरकारले पर्यटन क्षेत्रको पुर्नरुत्थानको लागि बजेटमा विशेष व्यवस्था गर्न र विगतमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न उनले आग्रह गरिन् ।
सरकारले पर्यटन व्यवसायीका लागि पुर्नकर्जा र व्यवसाय निरन्तरता कर्जा उपलब्ध गराएपनि सबै व्यवसायीले प्राप्त गर्न नसकेको गुनासो व्यवसायीहरुको छ ।
५० अर्बको कोष परिचालनमार्फत निश्चित मापदण्डको आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्ने व्यवसायीहरुको माग छ । होटल संघ नेपाल सन् १९६६ मा नेपालको होटल उद्योगको हित तथा संरक्षणको लागि स्थापना भएको थियो ।
१५ खर्बौं लगानी भएको होटल उद्योगमा करिब ५ लाखलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको तथा १०औं लाखलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको हानले जनाएको छ । बैंकको ऋण करिब ३ खरब रहेको छ । होटलहरु पूर्णरुपमा बन्द हुँदा प्रतिमहिना १ अरब ८० करोडको घाटा बेहोर्नु परेको छ । होटलहरुमा कार्यरत कामदार तथा कर्मचारीहरुको संख्या करिब १० लाख रहेको जनाएको छ । पर्यटन क्षेत्रको कुल ग्राहस्थ उत्पादन न्यून देखिएपनि कम्तीमा पनि यस क्षेत्रको हिस्सा ७.८ प्रतिशत रहेको हाम्रो जिकिर हानको छ ।

प्रतिक्रिया दिनुहोस्