युट्युबर र पत्रकारिताको भविष्य— २

युट्युबरलाई सकारात्मक विभेदले पनि निरुत्साहित गर्न सकिन्छ । नेपालका युट्युबरहरू मूलतः डलर खेतीका लागि जन्मिएका हुन् ।
देशमा लामो राजनीतिक द्वन्द्वबाट स्थापित लोकतान्त्रिक शासन पद्धतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेडतर्फ धकेल्ने खालको अभिव्यक्ति र सामग्रीहरू प्रकाशन र प्रसारण तथा त्यसलाई सार्वजनिक गर्ने माध्यमहरूको गतिविधि देखिएको हुँदा स्वतन्त्रताको उपभोग गर्ने नाममा कुनै दर्ताबिनै फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमहरूको विकृति रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निकट समयमै सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका, २०७७ जारी गर्न लागेको देखिन्छ । तर, जबजब सरकारले देशमा युट्युब फेसबुकलगायतका सामाजिक सञ्जालहरू देशको प्रचलित वा स्थानीय कानुनअनुसार दर्ता हुनुपर्छ भनेर विधेयकहरू ल्याउन वा तयार गर्न थाल्छ तब हाम्रोमा एउटा गलत मनसायले सरकारको विरोध गर्न सुरु गरिन्छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न लाग्यो । सरकार तानाशाही हुन लाग्यो । के सरकारले सामाजिक सञ्जालमा विज्ञापन गर्न पाइँदैन । गर्ने हो भने कर राजस्व तिरेर मात्रै गर्न पर्छ भन्न पनि नपाउने हो वा सामाजिक सञ्जालमा गलत सूचना प्रवाह गर्न पाइँदैन पनि भन्न नपाउने हो । नागरिकले गलत सूचनाको पछि लाग्नैपर्ने हो ।
हालै मात्र अस्ट्रेलिया सरकारले व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गुगल र फेसबुकले रकम तिर्नुपर्ने गरी नयाँ कानुन लागू गरेको देखिन्छ । विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरे पनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचारसंहितामार्फत नै गुगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ । अस्ट्रेलियाका सञ्चारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भए पनि मद्दत गर्ने उद्देश्य राखेर यस्तो नयाँ अभ्यास गर्न लागेको देखिन्छ, जुन विश्वका अन्य मुलुकका लागि पनि नजिर हुन सक्ने देखिन्छ । छापा मिडियामा आउने विज्ञापन बजार सुक्दै जाने तर विज्ञापनहरू डिजिटल प्लेटफर्ममा ट्रान्सफर हुने, यसका साथै आममानिसहरूले छापा पत्रिकाभन्दा पनि डिजिटल मिडियाका समाचारहरू सेयर गरेका र भ्यू बढी भए पनि फेसबुक र गुगलजस्ता मिडियाले आफ्नो आम्दानी साझेदारी नगरेको असर मिडिया हुँदै रोजगारीमा पर्ने देखिएपछि सरकारले नयाँ आचारसंहिता जारी गरेको देखिन्छ । नेपालमा पनि कुनै स्थानीय मिडियाको धेरै सेयर भएको वा धेरै भ्यु भएको पढिएको समाचारमा के फेसबुक वा गुगलजस्ता साइटले पैसा दिन्छ । यो हाम्रा लागि असम्भवजस्तै हो, तर अब अस्ट्रेलियाबाट सल्केको आगो विश्वका अन्य देशमा नजिर बन्दै नेपालमा पनि आइपुग्ने निश्चित छ । के सरकारले यसबारेमा कानुन बनाएर लागू गर्न नपाउने । के डिजिटल माध्यममा भएको विज्ञापनको हिस्सा यस्ता व्यावसायिक कम्पनीहरूले साझेदारी गर्नुपर्छ कि पर्दैन नेपालमा । किन हामी कुरै नबुझी अभिव्यक्ति स्वतन्त्रता भन्दै सरकारको विरोधमा लागिहाल्छौं ।
युट्युबरले ल्याएको क्रान्ति
नेपालमा प्रचलित कानुनबमोजिम दर्ता नभए पनि आचार संहिता पालना नगरे पनि अहिले हात हातमा स्मार्ट फोन र निःशुल्क वाइफाइ पाएको नयाँ पुस्ताले युट्युबरलाई साथ दिएको देखिन्छ । एकातिर नेपाली मिडियाहरू पुग्न नसकेको वा राष्ट्रिय स्तरको मिडियाले कभरेज नगरेको अवस्थामा युट्युबरहरूले यस्ता विषयहरू बाहिर ल्याएका छन्, जसले गर्दा आममानिसमाझ घटना बाहिर आउनेदेखि लिएर हरेकले सो विषयप्रति चासो राख्ने गरेको अवस्था देखिन्छ । एकातिर नेपाली मिडियाहरू पुरातन धारभन्दा माथि बाहिर निस्कन नसकिरहेको अवस्था, अर्कातिर सरकारी मिडियाहरू सरकारको मात्रै मुखपत्र भएको, सरकारको मात्रै गुणगान गाएको अवस्थामा नेपालमा युट्युबरलाई सामाजिक जागरण र सचेतनाको क्रान्तिको वाहकका रूपमा नै लिनुपर्ने हुन्छ ।
देशमा सरकार कमजोर भएको अवस्था साथै सरकारी निकायले प्रभावकारी ढंगले काम गर्न नसकेको साथै भागबन्डामा संवैधानिक पदहरूमा नियुक्तिदेखि ब्युरोक्रेसीमा राजनीतिक प्रभावले काम पंगू बन्दै गएको अवस्थामा युट्युबरहरूले सामाजिक अभियन्ताका रूपमा भुइँफुट्टाहरू उत्पादन गरिरहेका छन् । एउटा बेरोजगारी युट्युबरले यस्तै भुइँफुट्टाहरू भेला पारेर कार्यक्रमहरू सञ्चालन गर्ने, चर्को भाषण गर्ने, सरकारको विरोध गर्ने, जसले गर्दा उक्त भिडियोहरू फेसबुकदेखि सामाजिक सञ्जालहरूमा भाइरल बनाउने र भ्युजबापतको रकमले आफ्नो र परिवारको रोजरोटी गर्ने माध्यम बन्दै गएका छन् । हाल नेपालमा युट्युबर भनेको एक बेरोजगारले धेरैलाई रोजगारी दिने माध्यम बन्दै गएको देखिन्छ ।
हालका दिनमा आममानिसहरूले मिडिया भन्नेबित्तिकै राष्ट्रिय स्तरको पत्रिका वा टेलिभिजनको सट्टा युट्युबरलाई नै बुझ्ने गरेको देखिन्छ । मानिसहरू सचेत हुन थालेका छन् । केही गलत काम भएमा युट्युबहरू आइपुग्छन्, एकैछिन भाइरल हुन्छ भनेर उनीहरू आफ्नो कर्तव्यप्रति सचेत हुन थालेका छन् । यसैगरी सार्वजनिक निकायहरू पनि आफ्नो कार्यलय दिने सेवाप्रति निकै जिम्मेवार बन्दै गएको देखिन्छ ।
केही तलमाथि भएमा अभियन्ताहरू आउँछन्, सम्बन्धित निकायमा पुग्नुअगावै विषय भाइरल भइसक्छ भनेर उनीहरू आफ्नो कामप्रति वफादार बन्ने अवस्था देखिएको छ ।
युट्युबहरू राष्ट्रिय स्तरका मिडियाहरूको जस्तो बिहान–बेलुकै राजनीतिक बहस र झिनाझम्टीमा मात्रै सीमित रहेका देखिँदैन, उनीहरू आम सर्वसाधारणको जनजीविकाका सवालहरूमा खरो उत्रिएका छन् । सरकार पुग्न नसकेको वा सरकार चासो नदिएको स्थानमा गएर स्थानीय परिवेशका समस्याहरू प्रसारण गरेर सरकारसमक्ष पु-याउने गरेको देखिन्छ । सरकारले गरेका नराम्रा कामहरू भण्डाफोर गर्नेदेखि लिएर समाजमा भएका विकृति र विभेदविरुद्व आवाज बुलन्द गर्दै गएको देखिन्छ । कतिपय अवस्थामा अपराधीलाई दण्डित गर्न राज्यलाई सहयोग गरेको, जसले गर्दा निर्दोषलाई न्याय मिलेको पनि देखिन्छ । यति मात्रै होइन, गरिब र बेसहाराहरूका लागि युट्युबहरू वरदान सावित भएका छन् । उनीहरूले पाएको दुःखकष्ट र यातनादायी जीवनहरूको भिडियो बाहिर आएपछि हजारौं सहयोगी हातहरू निस्किएका, जसले गर्दा दुःखीको दुःख दूर भएको देखि नयाँ प्रतिभाहरूले आफ्नो प्रतिभा बाहिर ल्याउने अवसर पाएका छन् ।
विकल्पको बाटो
के अब पनि सधैं यसैगरी युट्युबहरू कानुनभन्दा बाहिरबाट नै सञ्चालित भइरहने अवस्था हो कि उनीहरूलाई पनि सरकारको नियमनकारी निकायको दायरा ल्याएर सञ्चालनको अनुमति दिनुपर्ने हो । पक्कै पनि अहिले नेपालमा प्रसारण संस्थाहरू नै बढी भइरहेको अवस्था देखिन्छ, जसले गर्दा एकातिर मिडियाकर्मीहरूसमेत अवैध धन्दामा लागेको देखि विज्ञापन बजार र व्यवसायमा समेत नकारात्मक असर पुगेको देखिन्छ । यसले गर्दा अब युट्युबरलाई कानुनको दायरामा ल्याउन नसके यसले विकराल अवस्था ल्याउन सक्ने देखिन्छ भने युट्युबर मिडियाका लागि भाइभन्दा पनि भाइरस सावित हुने जोखिम देखिन्छ । युट्युबहरूलाई कानुनको दायरामा ल्याउन सबैभन्दा पहिले युट्युबलाई नै स्थानीय कानुनअनुसार दर्ता भएर मात्रै सञ्चालन गर्न सरकारले पत्राचार गर्नुपर्ने देखिन्छ भने अर्कातिर युट्युबरहरूलाई पनि सरकारले प्रचलित कानुनबमोजिम दर्ता हुने आह्वान गर्नेदेखि यसको लागि मार्ग प्रशस्त गर्ने वातावरण तयार गर्नुपर्ने देखिन्छ भने प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणसँग समन्वय गरी आचारसंहिता पालना नगर्नेउपर साइवर कानुनदेखि युट्युब आईडीहरू ब्लक गर्न सक्ने गरी क्षेत्राधिकार विस्तार गर्नुपर्ने देखिन्छ ।
हामीले युट्युबरहलाई प्रमोट गरिरहेका छौं । सस्तोको लोभमा हामी विज्ञापन गरिरहेका छौं । कुनै च्यानलको सब्स्क्राइबर धेरै भएको देखेर हामी आफ्ना उत्पादनका सामग्रीहरू सस्तोमा नै विज्ञापन गर्न कुनै लाज मान्दैनौं । यति मात्रै होइन, हामी युट्युबहरूलाई सूचनादेखि अन्तर्वार्ता दिँदै हिँडेको देखिन्छ । यसलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ । हामीले अन्तर्वार्तादेखि केही सूचना र जानकारीहरू दिँदा अनुमतिपत्र लिएका नेपाली मिडियादेखि परिचयपत्र भएका पत्रकारहरूलाई नै दिनु उचित हुने देखिन्छ । यसका साथै कुनै युट्युबरले कुनै विषयको जानकारी वा सूचना मागेमा वा प्रसारणका लागि भिडियो खिचेमा हामीले उसको संस्थाको दर्ता विवरणदेखि कर राजस्वदेखि उसको पत्रकार परिचयपत्रसम्मका विवरणहरू माग्नुपर्ने देखिन्छ, जसले युट्युबरको नाममा कमाइ गरिरहेकाहरूका लागि यसले झड्का लाग्न सक्ने देखिन्छ भने हरेक वर्ष अनुमतिपत्र लिएका, नवीकरण गराएका कर र राजस्व तिरेका नेपाली मिडियाहरूको प्रवद्र्धन पनि हुने देखिन्छ ।
युट्युबरलाई सकारात्मक विभेदले पनि निरुत्साहित गर्न सकिन्छ । नेपालका युट्युबरहरू मूलतः डलर खेतीका लागि जन्मिएका हुन् ।
धेरैजसो युट्युबहरूहरूले दर्शक भ्यूका आधारमा डलरमा आम्दानी गरिरहेका, यसका साथै कतिपयले भिडियो बाहिर ल्याउँछु भनेर डराएर अनि धम्क्याएर पनि कमाइ गरिरहेका होलान् अनि कतिपयले विज्ञापन र प्रमोसनबाट पनि । यी सबैको पछाडि हामी नै रहेका छौं । हामी मिडियामा सरल रूपबाट आएका भिडियो न्युज र घटनाहरूमा ध्यान दिँदैनौं, तर त्यही समाचार र घटनालाई युट्युबरहरूले सनसनीपूर्ण शीर्षक बनाएर साथै थम्बेलमा अनेक दृश्य राखेर सामाजिक सञ्जालतिर सेयर गरेका पोस्टहरू भने हामी खोजी–खोजी हेर्छौं । अब हामीले सकारात्मक विभेदको नीतिअनुरूप यस्ता भिडियोहरूलाई कम गर्दै लग्यांै भने युट्युबरको डलर खेतीमा कमी आउने साथै उनीहरूले यसरी सनसनीपूर्ण किसिमले समाचार शीर्षक र थम्बेल राख्न छोड्नु नै पर्ने देखिन्छ । हो, हामीले जुन पायौं त्यही युट्युब च्यानल सस्क्राइब गर्न छोड्ने अनि शीर्षककै आधारमा भिडियो हेरेर भ्यूज बढाइदिन छोड्ने हो भने पक्कै पनि युट्युबहरू पनि लाइनमा आउने देखिन्छ । जसबाट नेपाली मिडियाको विकासमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
अर्कातिर सामाजिक सञ्जालदेखि युट्युबमा विज्ञापन गर्न प्रतिबन्ध गर्नेदेखि दर्ता भएका वेबसाइटहरूमार्फत मात्रै विज्ञापन गर्ने व्यवस्था गर्न सकेमा यसले पक्कै पनि नेपाली मिडियालाई कसरी दर्शक मन जित्ने साथै सरल र जनमनका आवाज बुलन्द गर्न सक्नुपर्छ भनेर युट्युबवाट सिक्ने अवसर मिल्ने देखिन्छ, जसले गर्दा युट्युब नेपाली मिडियाको पछिल्लो सन्तान अर्थात् मिडियाको भाइका रूपमा रहने जसले समाजका भाइरसहरू सखाप पार्ने अवस्था आउँछ, अन्यथा युट्युब नामको भाइरसले मिडिया नै सखाप पार्ने अवस्था पनि नआउँदा भन्न सकिँदैन ।