२५ अर्बको भटमास आयात, २३ अर्बको तेल निर्यात
आठ महिनामा २५ अर्ब रुपैयाँबराबरको भटमासको कच्चा पदार्थ आयात हुँदा प्रशोधित तेल भने २३ अर्बको निर्यात भएको छ ।
भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले भटमासको कच्चा पदार्थ आयात गरेर पुनः प्रशोधन गरी निर्यात गर्ने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म २५ अर्ब ५४ करोड ३२ लाख १५ हजार रुपैयाँ बराबरको कच्चा पदार्थ आयात भएको हो । सो अवधिमा कच्चा पदार्थ आयात गरी नेपालबाट प्रशोधन गरेर २३ अर्ब १२ करोड ६२ लाख १ हजार रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले कच्चा भटमास ब्राजिल, अर्जेन्टिना र तेस्रो मुलुकबाट आयात गरेर यी वस्तु नेपालमा प्रशोधन गरी पुनः निर्यात गर्छन् । कच्चा पदार्थ आयात गर्न भन्सार नलाग्ने भएकाले पनि व्यवसायीले ठूलो मात्रामा कच्चा पदार्थ आयात गरेर पुनः प्रशोधन गरी निर्यात गर्ने गरेका हुन् ।
गत आर्थिक वर्षको आठ महिनामा ७ अर्ब ५२ करोड १५ लाख २८ हजार रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष २ सय ७ प्रतिशतले निर्यात बढेको छ । अघिल्ला वर्षहरुमा पनि पाम आयलको निर्यात सोहीअनुसार हुने गरेको थियो । व्यवसायीले पाम आयलको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरेर पुनः निर्यात गर्ने गरेका थिए । अहिले व्यवसायीले भटमास तेलमा पनि त्यही प्रक्रिया अपनाएका छन् ।
यो वर्षदेखि भारतले पाम आयल आयातमा रोक लगाएपछि भटमासको कच्चा पदार्थ आयात गरेर पुनः तेल निर्यात गर्न थालिएको हो । भटमासको तेलले मुलुकमा निर्यात बढाएको छ । व्यापारविज्ञ पुरुषोतम ओझा भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर पुनः निर्यात गरेकाले यसले निर्यातमा सुधार आउन नसक्ने बताउँछन् । स्वदेशी वस्तुको निर्यात वृद्धि भएमात्र निर्यात बढेको देखिने उनको भनाइ छ । नेपालबाट निर्यात हुने वस्तुमा भटमासको तेल पहिलो नम्बरमा रहेको छ । भटमासको तेलले गर्दा चालू आवको आठ महिनामा निर्यात ७.८ प्रतिशतले बढेर ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात भएको छ । चालू आवकै अघिल्लो सात महिनासम्म निर्यात ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार थियो ।
यस्तै आठ महिनामा मुलुकबाट चिया निर्यात ६२ प्रतिशतले बढेर ३ अर्ब २१ लाख ८८ हजार रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ८५ करोड २४ लाख ३१ हजार रुपैयाँको चिया निर्यात भएको थियो । यस्तै आठ महिनामा अलैंची निर्यात ५३ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड १९ लाख ९ हजार रुपैयाँको भएको विभागको तथ्यांक छ । अघिल्लो वर्ष ३ अर्ब २२ करोड ६१ लाख ७८ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो ।
चालू आर्थिक वर्षको आठ महिनामा आयात उलेख्य वृद्धि भएको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा बढ्दै गएको छ ।