Logo

डायमण्ड दोस्रो खेलमा आर्मीसँग पराजित

ह्वोङ्गान्जी न्यू–डायमण्ड क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको प्रतिस्पर्धामा पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोस्रो खेलमा आर्मीसँग पराजित भएको हो । पहिलो सेटमा १७–२१ ले पछाडि परेको न्यू–डायमण्ड खेलमा फर्कंदै दोस्रो सेटमा २५–२० ले जित हात पार्न सफल भयो । यस्तै तेस्रो सेटमा पुनः २३–२५ ले खेल गुमायो । चौथो सेटमा सम्हालिँदै २५–१५ ले खेललाई आफ्नो पक्षमा पारेको डायमण्ड पाँचौं तथा निर्णायक सेटमा भने १२–१५ ले गुमाउन पुग्यो ।
रोमाञ्चक जित निकालेको आर्मीले २ अंक जोड्दा डायमण्डले १ अंक हात पा-यो । डायमण्डको ४ अंक भएको छ भने आर्मीको २ अंक भएको छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको महिलातर्फ दोस्रो दिन विभागिय टोली एपीएफ र नेपाल पुलिसले पनि जित निकाल्न सफल भए । एपीएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सहज जित निकाल्यो । एक पक्षिय खेलमा एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३–० को सेटमा नै जित निकाल्यो । पुलिसले भरतपुरलाई २५–४, २५–८, २५–१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।
पुरुषतर्फको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पार्दै आफ्नो खातामा ३ अंक जोड्यो । हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–१ को जित निकालेको हो । पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोस्रो सेट २३–२५ ले गुमाउन पुग्यो । पुनः खेलमा फर्कदै हेल्प नेपालले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हात पा-यो । तेस्रो सेटमा २५–२२ र चौथो सेट २५–१६ अंकका साथ जित हात पारेको हो ।
चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्