उपभोक्ता हित संरक्षण विभागप्रति वेवास्ता «

उपभोक्ता हित संरक्षण विभागप्रति वेवास्ता

वीरगन्ज-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूले नै अटेर गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले गरेको उपभोक्ता सचेतनासम्बन्धी गोष्ठी-कार्यशालामा पर्साका स्थानीय सरकारका प्रतिनिधिहरू नै आधा कार्यक्रमबाटै छाडेर हिँडेका छन् ।
उपभोत्ताको हित संरक्षणमा स्थानीय सरकारको प्रभावकारी सहभागिता र भूमिका हुनुपर्नेमा नियमनकारी निकायका प्रमुखहरू नै कार्यक्रम भईरहँदा बीचमै मञ्च छोडेर हिँडेपछि उपभोत्तावादी संस्थाका प्रतिनिधि र उपभोक्ता निराश बनेका थिए । उपभोत्तासम्बन्धी नीति, व्यावस्थाको बारेमा कार्यपत्र प्रस्तुत हुँदै गर्दा वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, प्रहरी उपरीक्षक रेवती ढकाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशकलगायतका सरकारी कार्यालयका प्रमुखहरू कार्यक्रम छोडेर हिँडेका हुन् ।
उपभोक्तावादी संस्था कज्युमर आई नेपालका केन्द्रीय सदस्य अधिवक्ता रञ्जनकुमार खनाल (शर्मा) ले उपभोक्ता हित संरक्षणमा स्थानीयदेखि केन्द्रीय तहसम्म सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाएपछि सरोकारवाला निकायका प्रमुखहरू नै कार्यव्यस्तता देखाउँदै कार्यक्रमबाट बाहिरिएका थिए । उनले भन्सारबाट आयात हुने उपभोग्य वस्तुको खाद्य प्रयोगशाला र क्वारेन्टाइनमा परीक्षण भएपछि मात्रै भन्सार जाँचपास हुनुपर्नेमा त्यसको ठीक विपरित पहिले भन्सार पास भएपछि मात्रै प्रयोगशालामा परीक्षण हुने गरेकाले स्वास्थ्यमा गम्भीर लापरवाही भएको बताए ।
वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको नगरपरिषद्को बोर्ड बैठक रहेको भन्दै समय लिएर बीच मै बोलेर गएपछि निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल पनि मन्त्रालयले कार्यक्रम गर्दा अग्रिम जानकारी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेर बाहिरिएका थिए । उनीसँगै अन्य कार्यालय प्रमुखहरू पनि हिँडेका हुन् ।
बजार अनुगमन र कारवाही गर्ने सरोकारवाला निकायका प्रमुखहरू नै कार्यक्रमबाट हिँडेपछि गुनासो सुन्ने कोही नभएको भन्दै कार्यक्रममा सहभागीहरू असन्तुष्ट भएका थिए । कार्यक्रममा उपभोत्ता हित संरक्षण मञ्च पर्साका अध्यक्ष धिरज शर्माले महत्वपूर्ण कार्यक्रम नियमकारी निकायका प्रमुखहरू नै नबस्दा उपभोत्ता हित संरक्षणमा राज्य नै उदासिन भएको देखिएको बताए । सहरमा म्याद सकिएका उपभोग्य वस्तु गाउँमा पठाइने गरेकाले उपभोक्ता सचेतना सहरमा भन्दा गाउँमा केन्द्रीत गर्नुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले भन्सारबाट आउने उपभोग्य सामानको कुनै परीक्षण नहुने र सरकारी कर्मचारीहरूले पनि अखाद्य वस्तु बिक्री गर्नेहरूसँग अवैध सम्बन्ध राख्ने प्रवृत्तिले उपभोत्ता ठगिने गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्