Logo

प्राधिकरणले मौलिक प्रविधि र शैलीमा सम्पदा पुनःनिर्माण गर्न जोड दिनुपर्ने

सहरी आवास पुनःनिर्माणका रणनीतिक मुद्दाहरू र भावी कार्यदिशाको विषयमा शुक्रबार एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र २०७२ सालको भूकम्पबाट क्षतिग्रत निजी आवासतर्फका भूकम्पपीडित लाभग्राहीमा पहिलो किस्ता पाउने ५ हजार ६ सय ८०, दोस्रो किस्ता प्राप्त गर्ने २ हजार २ सय ६१ र तेस्रो किस्ता लिने २ हजार ३४ रहेको तथ्यांक प्रस्तुत गर्दैै भूकम्पले १ सय २० भन्दा बढी सम्पदामा क्षति पुगेकोमा नगरपालिकाले १०८ वटा सम्पन्न गरिसकेको र बाँकी चालु अवस्थामा रहेको बताए ।
उनले ठेकेदारले सम्पदाको महत्वभन्दा नाफालाई प्राथमिकतामा राख्ने हुँदा सम्पदा निर्माण वा जीर्णोद्धारको कार्य ठेक्कामा दिनु गलत भएको बताए ।
भक्तपुरका केही सम्पदाहरू पुनःनिर्माणको लागि प्राधिकरणबाट विनियोजित भनिएको रकम हालसम्म हालसम्म प्राप्त नभएकोबारे प्रश्न गर्नुहुँदै प्रमुख प्रजापतिले १० करोडसम्म उपभोक्ता वा लाभग्राहीबाट पुनःनिर्माण कार्य गर्न भक्तपुर नपाले पटक–पटक सिफारिस गर्दा समेत स्वीकृति नहुनुको कारणबारे स्पष्ट पार्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग आग्रह गरे ।
भक्तपुर नपामा अझै ६० प्रतिशतभन्दा बढी निजी घरहरू पुनःनिर्माण हुन बाँकी रहेको बताउँदै उनले भूकम्प लाभग्राहीहरूलाई एकमुष्ट अनुदानको व्यवस्था गर्नुपर्ने, अनुदान रकम वृद्धि गर्नुपर्ने, बहुस्वामित्व र पुर्जा नभएकाहरूको समस्या समाधानमा पहल गर्नुपर्ने बताए ।
उनले सम्पदा पुनःनिर्माणको लागि राज्यले आवश्यक काठ उपलब्ध गराउनुपर्नेमा जोड दिनुहुँदै सम्पदा पुनःनिर्माण गर्दा मौलिक प्रविधि र शैली प्रयोग गरी स्थानीय निर्माण सामाग्रीको प्रयोग गर्नुपर्ने बताए ।
उक्त कार्यशाला गोष्ठी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्