प्रधानमन्त्री पुस ५ कै मनस्थितिमा हुनुहुन्छ : गुरुङ
नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको निर्णयको स्वागत गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा उनले भने, ‘कांग्रेसको निर्णय स्वागतयोग्य छ ।’ उनले पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेको र उक्त कदम सच्चिनुपर्ने भनेको र अदालतले संसद पुनःस्थापना गरे पनि अहिले संसद् सुचारु नभएको गुनासो पोखे ।
प्रधानमन्त्री ओलीको सोच अहिलेपनि संसद् विघटन गर्नेतर्फ नै केन्द्रित रहेको उनको आरोप छ । उनले भने, ‘हालै राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि उहाँले पटक पटक यो संसद चल्न सक्दैन र फेरि पनि विघटन गर्नुपर्ने कुरा राख्नुभयो । संसद विघटन गर्न सहमति चाहियो भन्नुभयो । प्रधानमन्त्री पुस ५ गतेकै मनस्थितिमा हुनुहुन्छ ।’
उनले वर्तमान सरकारले संविधानविरोधी काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने भनाइ राखे । उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु वा नलिनुको कुनै अर्थ नभएको पनि जिकिर गरे । उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि पनि आफूहरु खुल्ला नै रहेको जिकिर गरे ।