कांग्रेसले अब अविश्वासको प्रस्ताव ल्याउँछ : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैं राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने उनले जानकारी दिए ।
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनस्र्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनले बताए ।
उनले अव बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए । यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि उनले स्पष्ट पारे । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए ।
महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने उनको भनाइ थियो । जनता समाजवादी पार्टी नेपालका माग पूरा गर्न कांग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताए ।