कर्मचारी नहुँदा काम गर्न सकिएन : मुख्यमन्त्री राउत «

कर्मचारी नहुँदा काम गर्न सकिएन : मुख्यमन्त्री राउत

रुपन्देही-प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले कर्मचारी अभाव हुँदा दैनिक काम प्रभावित भएको बताएका छन् । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीद्वारा मंगलबार भैरहवामा आयोजित कार्यक्रममा राउतले प्रदेशमा कर्मचारी अभावबाट धेरै समस्या भएको भन्दै छिटो समस्या समाधानका लागि आग्रह गरे ।
“संघीय सरकारले कर्मचारी नपठाउँदा दैनिक काम सञ्चालन गर्नै समस्या भएको छ । कर्मचारी नहुँदा विकास निर्माणका काम अधुरै रहेको छ,” मुख्यमन्त्री राउतले भने, “हामीले केन्द्र सरकारलाई अल्टिमेटम दिएका छौं । यदि कर्मचारी नआए आफैं ऐन ल्याएर भए पनि आवश्यक कर्मचारी भर्ना गर्नेछौं ।”
मधेश आन्दोलनका बेला आफूहरुले बेरोजगार युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले अब ती प्रतिबद्धता पूरा गर्न करार ऐनअनुसार कर्मचारी भर्ना गरिने बताए । मुख्यमन्त्री राउतले पछिल्लो समय मुलुकमा महिला हिंसाका घटना बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले महिला हिंसाविरुद्ध प्रदेश सरकार कठोर भएर लाग्ने भन्दै समाजमा हुने महिला हिंसाका घटनाहरु रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषयमा प्राथमिकता दिई प्रदेश सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान सुरु गरेको उल्लेख गरे । मुख्मन्त्री राउतले नेपालकै इतिहासमा सबै क्षेत्रको सम्मान हुने गरी जातिगत जनसंख्याका आधारमा समानुपातिक सिट सुरक्षित गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्