बाँकेको नरैनापुरमा भीषण आगलागी, सय बढी घर जलेर नष्ट «

बाँकेको नरैनापुरमा भीषण आगलागी, सय बढी घर जलेर नष्ट

बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४ खोदावामा भएको आगलागीमा सयभन्दा बढी घर जलेर नष्ट भएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार आगलागीबाट अन्दाजी सय बढी घर जलेर नष्ट हुनुका साथै तीनजना घाइते भएका छन् । ‘धेरै घर जलेकाले एकीन तथ्याँक आइसकेको छैन’ उनले भने, ‘सय बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।’
नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुसार खोदावा गाउँका फकिरे खाँको गोठबाट दिउँसो करिब साढे २ बजेतिर लागेको आगो गाउँभरि फैलिएको थियो । बस्तीभरि फुसका घर भएका कारण आगो चाँडै गाउँभरि फैलिएर ठूलो क्षति भएको हो ।
आगलागी हुने बित्तिकै कोहलपुर, नेपालगन्जबाट आएका तीनवटा दमकल, सेना प्रहरी, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणमा लिएका थिए । नेपालगन्जबाट ४० किलोमिटर सुदूरपुर्वमा पर्ने नरैनापुरमा यसअघि पनि दुई पटक आगलागीका घटनाहरु भइसकेका छन् । आगलागीबाट ठूलो धनजनको क्षति भएको भन्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इश्तियाक अहमद शाह र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बांगले सहयोगका लागि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्