Logo

नाला निर्माणमा उपमहानगरको लापरबाहीले वर्षेनी डुबान

नेपालगन्ज उपमहानगरपालिकामा व्यवस्थित ढल तथा नाला निर्माण नहुँदा वर्षेनी डुबानको समस्या हुने गरेको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत ढल निकासका लागि नाला निर्माण भइरहे पनि नाला निर्माण कार्यमा नेपालगन्ज उपमहानगरपालिकाको लापरबाही भएको स्थानीयको गुनासो छ । पर्याप्त पूर्वाधार विकासका साथै भित्री सानातिना सडकसमेत स्तरोन्नति हुँदै गए पनि व्यवस्थित नाला निर्माण नहुँदा उपमहानगरका अधिकांश क्षेत्र सामान्य वर्षा हुँदासमेत डुबानमा पर्ने गरेका छन् ।
वर्षौंदेखिको यही समस्या समाधान गर्न भन्दै एडीबीको आर्थिक सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सडक र नाला निर्माणको काम थालिएको छ । करिब डेढ अर्बको लागतमा सुरु भएको आयोजनाअन्तर्गत नगरमा ३६ किमि सडक तथा ४० किमि नाला निर्माण थालिएको हो । नगरभित्र सडक पूर्वाधार र नाला निर्माणसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न काम सुरु गरिए पनि नेपालगन्ज उपमहानगरपालिकाको लापरबाहीका कारण गुम्बानाला निर्माणकार्य भने प्रभावकारी हुन नसकेको न्युरोड टोल सुधार समितिका अध्यक्ष गोपाल गिरिले बताए । “नाला निर्माणमा लापरबाहीका साथै मापदण्डविपरीत भएको छ,” उनले भने, “उपमहानगरपालिकाको गैरजिम्मेवारीपूर्ण निर्णयका कारण नाला अधुरै छाडेर अन्यत्र लगिएको छ ।” नाला निर्माणका क्रममा न्युरोड गुम्बादेखि वागेश्वरी मन्दिरसम्म ९ सय मिटरको नाला ७ सय मिटरमै टुंग्याई अधुरै अवस्थामा छाडेको, नालाको दुवैतिर वाल लगाउनुपर्नेमा घरको भित्तालाई नै वाल मानी एकतर्फी वालमात्र निर्माण गरेको र नालामाथि ढक्कन नलगाई जोखिमपूर्ण अवस्थामा छोडिएको नागरिक समाज बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । “हाम्रो नेपालगन्ज उपमहानगर, एसियाली विकास बैंक र क्षेत्रीय सहरी विकास आयोजनालाई अनुरोध छ, यत्रो लगानी गरिसकेपछि यी कुरा पूरा भएमात्र आयोजनाले पूर्णता पाउने छ,” उनले भने, “अनिमात्र नेपालगन्जको नालासम्बन्धी समस्या दीर्घकालीनरूपमा समाधान हुनेछ ।”
स्थानीयले केही दिनअघि पत्रकार सम्मेलन आयोजना गरी मापदण्डअनुसार निर्माणकार्य सुचारु राख्न माग राखेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका अनुसार गुम्बानालादेखि वागेश्वरी मन्दिरसम्मको नाला निर्माण एडीबीको आयोजनामा नभएको र त्यसलाई पछि भेरिएसन अर्डर गरेर समेटिएका कारण बजेट अभाव हुँदा दुईतर्फी पर्खाल र ढक्कन लगाउन नसकिएको उपमेयर उमा थापा मगरले बताइन् । हाल ठेकेदारले काम गरिरहेको बताउँदै स्थानीयको गुनासो सम्बोधन हुनेगरी अघि बढने उनको भनाइ छ ।
क्षेत्रीय सहरी विकास आयोजनाले सम्झौताअनुसार आफूहरूले गर्नुपर्ने कार्य प्रभावकारी ढंगले गरेको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको पुस २ गतेको बोर्ड बैठकले गुम्बानाला अन्तर्गत घरहरू निर्माण भइसकेकाले नालाको पर्खाल बनाउन आवश्यक नदेखिएको भन्दै उक्त नाला निर्माणको काम रोक्ने निर्णय गरिसकेको छ । उक्त नालाबाट बच्न जाने सामग्री अन्यत्र लगाउने निर्णय गरेपछि दिगोरूपमा संरचना निर्माण नगरी अलपत्र छाडेको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्