चिमखोलामा कालो मोसो लगाउने संस्कृति
म्याग्दी-कालो मोसो लगाउने भन्नेबित्तिकै गलत काम वा भ्रष्टाचार गर्नेलाई सजायको रुपमा लगाउने बुझिन्छ । तर म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा कालो मोसो लगाउने संस्कृति छ ।
परम्परादेखि नै भुमे देउतालाई खुशी बनाउन पूजापश्चात एक अर्कामा कालो मोसो लगाउँदै रमाउने संस्कृति चिमखोलामा निरन्तर छ ।
मगर समुदायको बाहुल्यता भएको चिमखोला सांस्कृतिक विविधताले भरिपूर्ण छ । देशविदेशमा चर्चा कमाएको थाली नाचको उद्गम थलो चिमखोलामा मानिन्छ । चिमखोले ढोको र पुख्र्याैली नृत्यले परिचित यस गाउँमा चैतको पहिलो मंगलबार गाउँबाहिर देश तथा विदेशमा रहेका चिमखोलाबासी गाउँ फर्किएर परम्परागत मण्डली र भुमे पूजा र सांस्कृतिक कार्यक्रम आयोजना गरेर रमाउने गर्छन् ।
यहाँ थाली नाचका साथै जुरेचल्ला र टोपा नाचसँगै सर्मजाले, सोरठी र कलश जुधाउने जस्ता मौलिक संस्कृतिको आफ्नै महत्व छ । भुमे पूजाको दिन भुमे देवतालाई खुसी बनाउन भुमेलाई जाँडलाई जल र प्रसादको रुपमा प्रयोग गरिन्छ । आमा समूहले हरेक घरधुरीबाट कोदो उठाएर कोदो पकाएर जाँड बनाउने चलन छ । भुमेपूजाको दिन छेमाहरुले छ्याङ खुवाएपछि भुमेलाई खुसी बनाउन युवायुवतीहरु एक आपसमा छ्याङको छोक्रा र खाना पकाउँदा आएको मोसो दलेर रमाइलो गर्छन् ।
भुमे पूजामा लगेर आफन्तजन र पाहुनालाई स्वागत तथा सत्कारको रुपमा जाँड चखाउने चलन पुर्खादेखि रहँदै आएको स्थानीयबासी माया गर्वुजाले बताइन् । जाँडले स्वागत गरेपछि स्थानीयले एक अर्काबीच कालो मोेसो लगाउने र रमाइलो गर्ने चलन पुर्खादेखिको संस्कृति हो ।
भुमे पूजा गरिसकेपछि भुमेलाई हँसाउन र भुमेलाई मान्न छेमाहरुले हरेक टोलबाट टोपा नाच देखाउने चलन निरन्तर रहेको पात्लेखर्कका ७२ वर्षिय नर्गेन्द्र पुनले बताए । भुमे पूजाको अवसरमा मण्डली युवा क्लबले धमाखु खेल मैदानमा आयोजना गरेको सांस्कृतिक तथा खेलकुद कार्यक्रममा भुमेलाई खुशी बनाउने उद्देश्यले बाजागाजासहित हरेक टोलबाट भेषभुषामा सजिएर टोपा नाच लिएर खेलकुद मैदान पुगेर सोरठी नृत्य शर्मा जाले, जुरे चल्ला, थाली नाच, कलस जुधाउने संस्कृति लगायत गर्दै संस्कृतिलाई संरक्षण गर्दै आएका छन् ।
स्थानीय कला संस्कृतिकी अगुवा चिनिमाया पुनले आफ्नो गाउँको पुरानो गीत गाउने र नाच्ने संस्कृति छ । चिमखोलालाई सांस्कृतिक गाउँको रुपमा घोषणासँगै मौलिक संस्कृतिलाई जोगाउन हरेक भुमेपूजा मेलामा मौलिक संस्कृतिहरु देखाउने चलन निरन्तर छ ।