बजार अनुगमन प्रभावकारी भएन «

बजार अनुगमन प्रभावकारी भएन


उपभोक्ता हितसँग सरोकार राख्ने विभिन्न विभागका महानिर्देशकहरुले जनशक्ति अभावका कारण प्रभावकारी बजार अनुगमन गर्न नसकेको गुनासो गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धी विषयमा छलफल गर्न उपस्थित भएका महानिर्देशकहरुले यस्तो गुनासो गरेका हुन ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बजार नियमन र अनुगमनका लागि विभागको अहिलेको संरचना प्रयाप्त नभएको बताए । उनले विभागसँग भएको जनशक्तिलाई दैनिक रुपमा परिचालन गरेर बजार अनुगमन गरिरहेको बताए । काठमाडौं उपत्यकाभित्र साढे चार लाख पसल र व्यवसाय दर्ता भएको र विभागले दैनिक निकाल्ने १० जनाको टोलिले नियमित अनुगमन गर्दासमेत नभ्याउने बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले पनि विभागसँग कम जनशक्ति भएकाले बजार अनुगमनलाई नियमित गर्न नसकिएको बताए । अहिले देशभर २५ हजार औषधि पसल र ४ सयको संख्यामा उद्योग रहेको तर विभागसँग ६० जना मात्रै कर्मचारी रहेकाले अनुगमन प्रभावकारी बनाउन नसकिएको नले बताए ।
आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले विभागबाट भ्याट बिल जारी गरे नगरेको, सही मूल्य राखे नराखेको सम्बन्धमा अनुगमन हुने गरेको दावी गरे । पछिल्लो समय विकास गरिएको सेन्ट्रल बिलिङ मोनिटरिङ सिस्टमबाट समेत बिलको विवरण हेर्न सकिने भएकाले बजारमा बिल अनुगमन प्रभावकारी बनेको उनले बताए ।
भन्सार विभागका निर्देशक शिशिर घिमिरेले भन्सारमा गरिने मूल्य निर्धारण उपभोक्ता हितसँग जोडिने भएकाले विभाग सचेत रहेको बताए । भन्सारमा मूल्य निर्धारण गर्दा राजस्व चुहावट नहोस भन्ने तर्फ विभागले ध्यान दिनेगरेको बताए । यस्तै समान प्रकृतिका बस्तुको मूल्यमा एकरुपता कायम गर्न कारोबार मूल्यलाई मान्यता दिने गरिएको तर यस्तो मूल्यमा धेरै फरक परेमा विभाग आफैले मूल्य निर्धारण गरिदिने गरेको बताए । बैठकमा सांसदहरुले बजार अनुगमनलाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्