Logo

खजुरा क्यान्सर अस्पतालमा हिस्टोप्याथोलोजी सेवा सुरु

नेपालगन्ज-अस्पताल सञ्चालनमा आएको करिब तीन वर्षपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा हिस्टोप्याथालोजी सेवा सुरु भएको छ । क्यान्सरका शंकास्पद बिरामीमा मासुको टुक्रा निकालेर कस्तो प्रकारको क्यान्सर छ भनेर पत्ता लगाउने हिस्टोप्याथालोजी सेवा विस्तार भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद आचार्यले बताए । ‘क्यान्सरको प्रकार र चरण पत्ता लगाउने हिस्टोप्याथालोजि विस्तार खजुरामै भएको छ,’ उनले भने, ‘अब भरतपुर, काठमाडांैलगायत अन्यत्र जानुपर्ने क्यान्सरका बिरामीहरूले यहीबाट सहजै सेवा पाउने छन् ।’
हिस्टोप्याथालोजि सेवा सुरु भएको एक महिनाको अवधिमा ४० वटा केस परीक्षण गरिएको छ भने जसमध्य पेट, स्तन, फोक्सो, छाला र जिब्रोको क्यान्सरका १० वटा केस पत्ता लागेको कन्सल्टेन्ट प्याथोलोजिष्ट विभागिय प्रमुख डा.आँचल शाहीले बताइन । ‘बाँकी टयुमरलगायत अन्य केसहरू पत्ता लागेको छ,’ उनले भनिन् । अस्पतालमा कार्यरत सर्जन डाक्टरहरूलाई पनि यो सेवा सुरु भएपछि सहज भएको छ । बिरामीको कस्तो खालको अपरेसन गर्ने, केमो लगाउने की नलगाउने, सेकाई गर्ने नगर्ने लगायतका कुराहरू हिस्टोप्याथोलोजिबाट थाहा हुने भएकाले उपचार प्रक्रियामा धेरै सहज हुने कन्सल्टेनट स्त्रीरोग विशेषज्ञ डा. प्रविण गिरीको भनाइ छ ।
दुई वर्ष अघिदेखि केमो थेरापी सेवा सुरु गरेको अस्पतालले गत मंसिर ५ गतेबाट अप्रेसन सेवा सुरु गरेयता हालसम्म विभिन्न किसिमका ९४ जनाको सफल सल्यक्रिया गरीसकेको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी असोजदेखि अस्पतालमा नयाँ व्यवस्थापन सुरु भएसंगै ६ महिनाको अवधिमा १ सय ८० बढी बिरामीहरूलाई किमो थेरापी सेवा प्रदान गरिएको जनाएको हो ।
सर्वसाधारणको प्रभावकारी र सहज स्वास्थ्य सेवा पाउने कुरालाई मध्यनजर गर्दै अस्पतालमा चैत १५ गतेदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म सेवा दिन थालीएको कार्यकारी निर्देशक आचार्यले बताए । टाढाका बिरामीलाई मध्यनजर गरी अस्पतालको सम्पर्क कार्यालय नेपालगञ्ज–१, कारकाँदोमा स्थापना गर्नुका साथै हप्ताको दुई दिन मंगलबार र बिहीबार भेरि अस्पतालमा समेत क्यान्सरको ओ.पि.डी सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै अस्पतालले विभिन्न विभागमा आवश्यक ३८ जना प्राविधिक तथा अप्राविधिक कर्मचारी भर्ना गरी सेवा सुचारु गरेको जनाएको छ । जसमध्य ११ जना विशेषज्ञ डाक्टर, मेडिकल अफिसर ४ जना, नर्सिङ अफिसर १, स्टाफ नर्स २ जना, ल्याव टेक्नोलोजिस्ट, ल्याव टेक्निसियन, रेडिएसन टेक्नोलोजिष्ट, रेडियोग्राफर, फार्मेसी सहायक, कम्प्युटर अपरेटर १÷१ जना र फार्मेसी सहायक, कार्यालय सहयोगी ३-३ जना गरी ३८ जना जनशक्ति व्यवस्थापन गरेको हो ।
पत्रकार सम्मेलनमा अस्पतालका सस्थापक तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पतालमा उपचारमा आउने गरिव तथा विपन्नवर्गका विरामीहरूलाई सहुलियत दिएको बताए । गाउँपालिकाकातर्फवाट समेत सहयोग रकम छुट्टयाएको उनले जानकारी दिए । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले अस्पतालले अवको ६ महिनाभित्र क्यान्सरका सम्पुर्ण उपचार सेवाहरू प्रदान गर्ने गरि सेवा विस्तार गरिने बताए । ‘अवको केही समयमै ब्राकि थेरापी सेवा सुरु गर्ने तयारीमा रहेका छौ’ उनले भने ‘क्यान्सरका लागि अति आवश्यक लिन्याक मेसिन खरिद प्रक्रियामा रहेकाले रेडियसन थेरापी सुरु गरेपछि अस्पतालले पुर्णता पाउने छ ।’ अस्पताल पूर्णरूपमा सञ्चालन भएपछि वैशाखमा विधिवत रूपमा राष्ट्रपतिद्वारा उद्घाटन गराउने तयारी भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्