नेपालको विकास किन भएन ? «

नेपालको विकास किन भएन ?

हरेक कुरामा विदेशी वा प्रतिगामी तत्वलाई दोष दिएर तथा भाषणबाजी गरेर कुनै पनि मुलुक विकास भएको छैन र हुँदैन पनि ।

पछिल्ला वर्षहरूमा नेपालको विकास किन भएन भन्ने धेरै बौद्धिक बहस तथा चर्चा–परिचर्चा भएको पाइन्छ । धेरै विद्वान्का धेरै तर्क–वितर्क तथा कुतर्क पनि सुनिएको छ । अझ नेपालको अविकासमा राजनीतिक दलका नेता तथा कर्मचारीतन्त्रको पनि आ–आफ्नै तर्क रहेको पाइन्छ । तर, मेलम्ची खानेपानी आयोजना यसका लागि एउटा विश्वविद्यालय हो । नेपाल किन विकास भएन भन्ने प्रश्नको राजनीतिक उत्तर त धेरैले दिए, तर वास्तविक उत्तर मेलम्ची खानेपानी आयोजना हो, जुन मुलुक जलविद्युत्को प्रख्यात छ । धेरै नदीनाला भएका कारण जलविद्युत्को प्रचण्ड सम्भावना छ भनिन्छ । तर, एउटा खानेपानी आयोजनाको सोचदेखि सम्पन्न गर्न आधा शताब्दी लाग्छ, अनि त्यो मुलुकमा विकासको परिभाषा नै के हो ? राजनीतिक दल तथा नेता अनि कर्मचारीतन्त्रको विकासको बुझाइ के हो, अनि विकास साझेदारले नेपालको विकासलाई कसरी बुझेका छन् ? यी सबै प्रश्नको उत्तर आएपछि बल्ल नेपालको विकास किन भएन भन्ने बझ्न अलि सहज होला ।
सोच निर्मित भएको ५० वर्ष र कार्यान्वयनमा गएको दुई दशकभन्दा लामो पर्खाइपछि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाएका छन् । नेपालको विकासको योभन्दा विदु्रप रूप के हुन सक्छ । नेपालमा विकास तथा राजनीतिको साँठगाँठभन्दा बढी विरोधाभास छ । अझ मेलम्चीमा त्यति धेरै राजनीति भएन, जति अन्य विकास परियोजान विशेषतः जलविद्युत् आयोजनामा हुने गर्छ । तर पनि कम राजनीति हुँदा पनि एउटा आयोजना सम्पन्न हुन एउटा पुस्ता लाग्छ भने नेपाल भन्ने मुलुकको विकासको परिभाषा तथा मानसिकता एकपल्ट गम्भीर मूल्यांकन नगरी अब मुलुक अगाडि बढ््न सक्दैन । हरेक कुरामा विदेशी वा प्रतिगामी तत्वलाई दोष दिएर तथा भाषणबाजी गरेर कुनै पनि मुलुक विकास भएको छैन र हुँदैन पनि । विकास भनेको तपस्या हो, राजनीतिक दल तथा राजनीतिक दलका नेता एवं सरकारको प्रतिबद्धता पनि हो ।
दुई दशकभन्दा बढी लागेर सम्पन्न भएको मेलम्ची खानेपानी वितरणको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरिन् । भृकुटीमण्डपमा बनाइएको सुनौलो ढुंगेधारामा हात धोएर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् । तर यसको संकेत अब नेपालको भविष्य सुनौलो छ भन्ने हो कि देखावटी सुनौलो धारा बनाइएको हो, सरकारका विगत तीन वर्षको काम गराइ तथा आथिक नीतिले स्पष्ट देखाइरहेको त छ नै ।
यसभन्दा बढी राष्ट्रिय गौरवको एउटा आयोजना सम्पन्न गर्न ३५ अर्ब रुपैयाँ खर्च भए तापनि यसबाट लाभ प्राप्त गर्ने वर्ग र संख्याको हिसाबमा यो कत्तिको प्रतिफलदायी हो, सरकारले यसमा पनि मूल्यांकन गर्न आवश्यक छ । एक साता अघिदेखि नै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा परीक्षणको रूपमा मेलम्चीको पानी पठाउन थालिएको भए तापनि पूरै काठमाडौं उपत्यकामा यसको पनि उपभोग गर्न पाउने आधार तयार हुन अर्को एक वा दुइ दशक नलागोस् भन्न सरकारको तयारी के छ, यसबाट पनि वर्तमान सरकारको विकासको धारणा सप्ष्ट हुन्छ नै । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल दैनिक ८.५ करोड लिटर पानी वितरण भइरहेको र चाँडै पूर्ण क्षमताअनुरूप १७ करोड लिटर वितरण गरिने बताए ।
साथै, उनले केही वर्षभित्र थप ३४ करोड लिटर पानी ल्याउन सकिने आशा व्यक्त गरे । उनको भनाइमा २०८१ सालमा यांग्री र लार्के खोलाको पानी पनि काठमाडौंमा आइपुग्नेछ । तर, के सरकारसँग त्यो प्रतिबद्धता छ ? यस्तै, उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनाका परिकल्पनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई स्मरण गरिन् । जुन एउटा राम्रो राजनीतिक सस्कार हो । तर मेलम्चीको काठमाडौं आगमनमा धेरै ज्ञात अज्ञात कर्मचारी तथा ज्यान नै गुमाएका इन्जिनियर तथा कर्मचारीलाई सलाम ।

प्रतिक्रिया दिनुहोस्