विकासमा जनसहभागिता बढाउँदै मुगूम कार्मारोङ
प्रदेश : कर्णाली
जिल्ला : मुगु
स्थानीय तह : मुगूम कार्मारोङ गाउँपालिका
जनसंख्या : ५,३९६
क्षेत्रफल : २,१०६.९१ वर्ग किलोमिटर
मुगुको मुगूम कार्मारोङ गाउँपालिका पर्यटनको अथाह सम्भावना बोकेको स्थानीय तह हो । यस्तै बहुमूल्य जडिबुटी यार्सागुम्बा, वन्यचन्तु, जङ्गली जनावर, पशुपंन्छी, जलस्रोतको भण्डार हो । लामा समुदायको बहुल स्थानीय तह पनि हो यो । जडीबुटी व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना रहेको छ । यस क्षेत्रका समुदायले नेपाली, अंग्रेजी र तिब्बेतियन भाषा प्रयोग गर्दछन् ।
तीन वर्षको कार्यकालमा गरेका कामप्रति गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा सन्तोष मान्छन् । तर उनको धोको गाउँपालिकालाई नमूना बनाउने छ । अरु काम त पछि आउनेले पनि गर्छन् ।
तीन वर्षको अवधिमा विकास निर्माणलगायत गाउँपालिकाको व्यवस्थापनमा बिताएको लामा बताउँछन् । उनले दुई वर्ष जनतासँग हातेमालो गर्दै र विभाजित विकास योजनाहरुको काम गरेर बिताएको बताए । यस्तै कहिले प्रदेश, कहिले जिल्ला र कहिले गाउँमा हुने कार्यक्रम र गोष्ठीको लागि तलमाथि गरेर पनि एक वर्ष बितेको र कोभिड पनि ब्यहोर्नु परेकाले विकासमा पनि फड्को मार्न नसकेको उनी बताउँछन् ।
‘प्रत्येक वडा उज्यालो पार्ने, खानेपानी नभएको ठाउँमा पानी पु-याउने काम गरें । बाँकी रहेका योजना छिट्टै सम्पन्न गर्ने सोच छ,’ उनी भन्छन् । गाउँपालिकाले समान तरिकाले विकासका योजनाहरु समान ढंगले बाँडेको छ । विकास योजनाको बाँडफाँडमा स्थानीयको पनि उत्तिकै उपस्थिति हुन्छ ।
विकास निर्माणको छनौटमा जनता आउनुपर्ने लामाको कथन छ । ऐनले नै जनसहभागितामा विकास गर्ने उल्लेख गरेको छ । जनताको साथ विना कुनै पनि विकास सम्भव छैन । चुनावमा भौगोलिक हिसाबले ठगिएको मुगूम कार्मारोङ गाउँपालिकामा सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, पर्यटन र सञ्चारको व्यवस्था गर्छु भन्ने प्रतिबद्धता गरेकोमा अहिले उनी तिनै प्रतिबद्धता कार्यान्वयनमा लागेका छन् । उनले भने, ‘सबै पूरा भएका छैनन् तर सुरुवात भने गर्दैछु,’ उनले भने ।
गाउँपालिकाले शिक्षाको अवस्थामा सुधार गर्न सबै विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको भेला गराई २१ बुँदे प्रतिबद्धता गराएको छ। सरकारको दरबन्दीबाहेक गाउँपालिकाले ३० लाख छुट्याएर भाषा शिक्षक राखेको छ । यस्तै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्ने अवस्था, औषधि नपाउने अवस्था, सिटामोल पाउनलाई सदरमुकाम गमगढी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । सबै वडामा सञ्चार सुविधा पुगेको छ ।
गाउँपालिकाको ध्यान गाउँगाउँमा सडक पु-याउने पनि छ । विद्युत्तर्फ चाम्नी गाडमा बत्ती बलिसकेको छ भने मह र रिउसमा एक सय किलोवाट क्षमताको जलविद्युत आयोजनाको सुरुवात भएकोले करान भेगमा २ वर्षभित्र सबै वडामा बत्ती बल्ने लामा बताउँछन् । पर्यटनको सम्भावना भएको यस गाउँपालिकामा धेरै तालतलैया, कोइकी हिमाल, छायाँनाथ धामलगायतको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने काम भइरहेको छ।
‘काम गर्दै जाँदा चुनौती र अवसर उत्तिकै छन् । मुख्यतः भौगोलिक विकटता छ,’ उनी भन्छन्, ‘मुख्य चुनौती त कर्मचारीको छ । तीन वटा वडामा मात्र सचिव हुनु, दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुनु र बजेटको कमी जस्ता समस्या छन् ।