Logo

८ महिनामा साढे ४ हजार पर्यटक रारा पुगे

जुम्ला-नेपालकै ठूलो तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । रारा घुम्ने उत्तम समयका रुपमा मानिने चैत महिनाको सुरुवातसँगै रारामा पर्यटकको संख्या बढ्न थालेको हो । चालु आर्थिक वर्षको ८ महिनामा ४ हजार ४ सय ९ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा तालको अवलोकन तथा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए ।
उनका अनुसार ४ हजार ४ सय ९ जना पर्यटकमध्ये ७ जना विदेशी पर्यटक रहेका छन् । यस्तै ४४ सय २ जना नेपाली पर्यटक रहेका छन् । नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागनम कम भएको सूचना अधिकारीले रोकायाले जानकारी दिए ।
कोभिडपछि बाह्य पर्यटक भन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको भने घुइँचो रहेको उनले उल्लेख गरे । “चैत महिना सुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ” रोकायाले भने, “दैनिक करिब डेढ बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् ।”
साथै चालु आर्थिक वर्षको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शिर्षकमा १० लाख १३ हजार ७ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ । विगतका तुलनामा बाह्यको पर्यटकको आगमन घटेपछि राजस्व संकलन पनि घटेको निकुञ्जले जनाएको छ ।
रारा पुग्नका लागि पछिल्लो समय नाग्म गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको सख्या पनि वृद्धि भएको छ । नियमित २÷३ उडान मुगु भर्ने भएकोले हवाई मार्गबाट आउने पर्यटकको सख्यामा पनि वृद्धि भइरहेको छ ।
रारा तालमा पर्यटक बढ्न थालेपछि होटल कम भएकाले बास बस्न भने समस्या भएको पाइएको छ । रारा ताल आसपास भएका होटल भरिभराउ हुने र अधिकांश पर्यटकहरुलाई बस्ने बासको उचित व्यवस्थापन नहुँदा समस्या भएको हो । ढिला पुग्ने, सम्पर्क गरेर नजाने पर्यटकहरु टेन्ट हालेरै भएपनि चौरमा बस्ने गरेको निकुञ्जमा सूचना अधिकारी रोकायाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जब गरेर विशेषगरी काठमाडांै, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् ।
साथै पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा हवाइ चाप बढेको छ । नेपालगन्जबाट तारा, समिट र सीता एयरले दैनिक ५ देखि ८ वटा उडान भरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । पर्यटक बढेपछि उडान भर्न भ्याइनभ्याइ भएको तारा एयरलाइन्सका स्टेशन इन्चार्ज लक्ष्मी शाहीले बताए ।
रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुंगा चालकको समेत आम्दानी बढेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा स्थानीयले मनग्य कमाई गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्