खुवालुङलाई पर्यटनसँग जोड्न स्थानीयको माग «

खुवालुङलाई पर्यटनसँग जोड्न स्थानीयको माग

धनकुटा-सप्तकोसी नदीकोे बीचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा दिएको अभिव्यक्तिप्रति किराँत धर्मावलम्बीहरुले विरोध जनाएका छन् ।
खुवालुङ सभ्यतासँग जोडिएको भन्दै जोगाउनु पर्नेमा सरकारले नै विनास गर्न खोज्नु पहिचान र आस्थामाथिकै प्रहार भएको भन्दै उनीहरुले विरोध गरेका हुन् । सप्तकोसी नदीकोे बीचमा रहेको ठूलो ढुंगा खुवालुङले मोटर बोट सञ्चालनमा बाधा पु-याएको भन्दै फुटाउने भएपछि त्यसको सर्वत्र विरोध भएको हो ।
नदीको बीचमा रहेको यो ढुंगाको कारण जेट बोट चलाउन र बाँसलगायत विकास निर्माणका सामग्री ढुवानीमा समस्या हुँदै आएको भन्दै ढुंगा फुटाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो ढुंगा खुवालुङलाई फुटाएर जेट बोट चलाउने अभिव्यक्ति दिएपछि खुवालुङको विषय चर्चामा रहेको हो ।
किराँत राई चाम्लिङ भाषामा खु भनेको ठूलो खोला र वा भनेको पानी र लुङ भनेको ढुंगा हुने भन्दै खुवालुङ सिंगो किराँत समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र रहेको भन्दै त्यसलाई फुटाउने नहुने भन्दै विरोधसमेत भइरहेको छ ।
प्रदेश सरकारले नै खुवालुङलाई फुटाउने गरी उपभोक्ता समिति नै गठन गरेर काम थाल्न लागेका बेला अभियन्ताहरुकै कारण त्यो काम रोकिएको स्थानीयको भनाइ छ । उनीहरुले धार्मिक आस्थाका रुपमा रहेको खुवालुङ फुटाउनुको साटो जोगाएर जेटबोट चलाउन सकिने र यो क्षेत्रलाई धार्मिक रुपमा पर्यटनको विकास गर्नुपर्ने माग गरेका छन् । खुवालुङ फोडिँदा किराँतहरूको आस्थामाथि नै प्रहार हुने अभियान्ताहरुको भनाइ छ ।
मंगलबार खुवालुङ अवलोकनमा गएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङको विषयमा राजनीति गरीएको र यसले आफूलाई दुखित बनाएको बताए । उनले यस क्षेत्रलाई संरक्षण गर्दै पर्यटनसँग जोड्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्