संघीयताले छोएन मांशिमाबासीलाई
संखुवासभाको दुर्गम क्षेत्र मकालु–५ का मांशिमाबासीले संघीयताको आभाष अझै पाउन सकेका छैनन् । सदरमुकाम खाँदबारीबाट २ दिनको पैदल दूरीमा पर्ने ६ वडा रहेको मकालु गाउँपालिका भौगोलिक तथा अन्य हिसाबले सुन्दर र मनमोहक रहे पनि विकासका दृष्टिकोणले पिछडिएको क्षेत्र हो । गणतान्त्रिक संविधानले ग्रामीण समुदायलाई लक्षित गरी संघीय संरचनाको परिकल्पना गरे पनि मांशिमाबासिका लागि भने संघीयताले खासै प्रभाव नपारेको स्थानीय सञ्चारकर्मी गंगा विष्टको भनाइ छ । पहिले पनि वडाको सेवा लिन १ दिन धाउनै पथ्र्याे अहिले पनि सेवा लिन जानपर्ने दूरी उत्ति नै भएपछि के नै फरक प¥यो र ?
गाउँगाउँमा सिंहदरबार भनेर सञ्चार माध्यममा धेरै सुन्ने गरियो । नयाँ संरचना बनेपछि सबै सेवा घरघरमै उपलब्ध हुने कुराले मांसिमाबासी धेरै खुशी थिए, अहिले गाउँमा न त बिजुलीबत्तीको सुविधा छ, न सडक, खानेपानीकै राम्रो सुविधा छ । देखिन लायकको न कुनै विकास निर्माणको काम भयो न त स्थानीय बासिन्दाको दुःख पीर नै घट्यो । बरु उतिबेला हिँडेका सडक केही छोटो र सहज थियो अहिले नयाँ सडक निर्माणको चपेटाले सडकको दूरी बढेको छ । पुरानो छोटो मार्ग मेटिँदै जाँदा बाटो पहिल्याउनै गाह्रो छ । मकालु–५ का वडाध्यक्ष जापान गुरुङले स्थानीय बासिन्दाले छुट्टै वडाको माग गरेकाले मकालु गाउँपालिकाको गाउँसभामा समेत मांशिमा गाउँलाई छुट्टै वडा बनाउने निर्णय गरिए पनि सम्बन्धित निकायको बेवास्ताले वडा छुट्याउन नसकेको बताए ।
सडक घुमाउरो भएजस्तै घुमेर जान हो भने त्यसबेलाको ७ घण्टाको सडक पार गर्न अहिले २ दिन नै लाग्ने गर्छ । बूढाबूढी केटाकेटी बिरामी ओसारपसार गर्नुपर्दा धेरै कष्ट बेहोर्न परिरहेको वडाध्यक्ष गुरुङको भनाइ छ । भएका युवा जति बाहिर छन् गाउँमा साह्रो गाह्रो पर्दा दैव गुहार्नुबाहेक अर्काे उपाय छैन । सुविधा खोज्दै अन्यत्र जान पनि पितापुर्खाले जीवन बिताएको ठाउँ नजाउँ भने बालबच्चा पढाउन, आफ्नै वडा ओहोरदोहोर गर्न उमेरले पनि नसकिने दिन आयो ८४ वर्षीय रणबहादुर गुरुङ बताउँछन् । करिब १० वर्षअघि गैरसरकारी संस्था एनआरआरएनले ठूलो खोलाबाट निकाली दिएको १३ किलोवाट क्षमताको पेल्ट्रक सेट मर्मत संभार हुन नसक्दा ५ वर्ष अघिदेखि स्थानीयले अन्धकारमा जीवन गुजारा गर्नुपरिरहेको स्थानीय पन्चकन्या निमाविका प्रधानाध्यापक नरेन्द्र गुरुङले जानकारी दिए । नयाँ सरकार बन्यो अब त गाउँमा केही विकास होला कि भन्ने लागेको थियो । अब त सरकारले पनि कुनै ध्यान दिने छाँट आएन आफैं आफैं बाझ्न थालेरे भन्ने सुन्दा गाउँमा विकास आउने आश मरेर गएको स्थानीय वृद्धा सुनमायाँ गुरुङ बताउँछिन् ।
गुरुङ र राई जातिको मात्र बसोबास रहेको मांशिमा गाउँमा नुमको खोकताक–खोङ्लाखाङ हुँदै १९ किलोमिटरको सडक मकालु गाउँपालिकाको पहलमा निर्माण हुँदैछ । तर लामो समय बितिसक्दा समेत सडक गाउँमा पुग्न सकेको छैन । अहिले १९ किलोमिटरमध्ये करिब १० किलोमिटर मात्रै ट्रयाक ओपनको काम सकिएको छ । बाँकी काम कहिले सकिने हो अनिश्चित छ ।
अहिले गाउँ जोडन सडक त खनिँदै छ तर खनिएको सडकले बस्ती र खेतीयोग्य जमिन नाश गर्नुबाहेक केही नभएको उनले बताए । अहिले पनि मांशिमाबासीलाई आफ्नै वडाबाट प्रवाह हुने सेवा लिन धेरै गाह्रो छ । वडाको सेवा लिन दिनभरको पैदल दूरीमा पर्ने नुम बजारमा रहेको वडा कार्यालय आउन जान हजारौं खर्च लाग्ने भएपछि सामान्य गुजारा गर्ने स्थानीय मारमा परेका छन् । न बिजुली न शिक्षाको राम्रो सुविधा छ । पिउने पानीका लागि अझै त्योभन्दा बढी हिँड्नपर्ने बाध्यता रहेपछि गाउँ छाड्ने मनस्थितिमा आफू पुगेको माँशिमाका स्थानीय समाजसेवी वीरबहादुर गुरुङले बताए । ।
२ सय ८५ घरधुरी रहेको स्थानीयले छुट्टै वडाको माग गरेकाले गाउँपालिकाले निर्णय गरेको ३ वर्ष बित्यो तर सम्बन्धित निकायबाट स्थानीयको समस्या नबुझिँदा आफूहरूलाई समेत समस्या भएको वडा नं. ५ का वडाध्यक्ष जापान गुरुङको भनाइ छ । स्थानीय बासिन्दाको मागको सुनुवाइका लागि जननिर्वाचित प्रतिनिधि गम्भीर हुनुपर्ने उनको भनाइ छ ।