Logo

चन्द्रगढी विमानस्थलमा हवाई इन्धन डिपो निर्माण प्रक्रिया सुरु

झापाको चन्द्रगढी विमानस्थलमा हवाई इन्धन डिपो निर्माण प्रक्रिया सुरु भएको छ । निर्माणका लागि नेपाल आयल निगम र नागरिक उड्डयन कार्यालयबीच सम्झौता भई डिपो निर्माण प्रक्रिया सुरु भएको हो ।
आयल निगमले संरचना निर्माणको कार्य सुरु गरिसकेको नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनीष न्यौपानेले बताए । आगामी असारभित्रमा हवाई इन्धन भण्डारण संरचना निर्माण भइसक्ने प्रमुख न्यौपाने बताउँछन् । चन्द्रगढी विमानस्थलले आयल निगमलाई डिपो निर्माणका लागि ६ कठ्ठा जग्गा उपलब्ध गराएको छ । डिपोमा ६० हजार लिटर क्षमताको हवाई इन्धन भण्डारण हुनेछ । जसले चन्द्रगढी विमानस्थलको ७ दिनसम्मको मागलाई धान्न सक्छ ।
डिपो निर्माणको लागत ५ करोड रुपैयाँ रहेको आयल निगमले जनाएको छ । दुई वर्ष अघिदेखि चन्द्रगढी विमानस्थलको भवन लिएर निगमले अस्थायी रुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएको थियो । डिपो निर्माणपछि स्थायी रुपमा सेवा प्रदान गरिने प्रमुख न्यौपानेले बताए । निगमका प्रमुख न्यौपानेले डिपोका लागि चाहिने ब्राउजरको व्यवस्थासमेत गरिसकिएको बताए ।
यसअघि भारतको सिलीगुडीबाट काँकडभिट्टा नाका हुँदै ल्याइएको हवाई इन्धन विराटनगर लगेर गुणस्तर परीक्षण पश्चात पुनः चन्द्रगढी विमानस्थल ल्याइने गरेको थियो ।
“चन्द्रगढीमा नै डिपो निर्माण भएपछि हवाई इन्धनको लागतसमेत घट्छ,” नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पैडेलले भने, “स्थायी संरचना नहुँदा खर्च बढ्नुका साथै झन्झट पनि हुने गरेको थियो, अब त्यसबाट मुक्त हुन सकिन्छ ।” “अब सिलगुढीबाट खरिद गरिएको इन्धन सिधै चन्द्रगढी विमनस्थलको डिपोमा फिल्टरसहित भण्डारण गर्न सकिन्छ,” निर्देशक पौडेलले भने ।
संरचना निर्माणसँगै भद्रपुरको हवाई इन्धन काठमाडौँको भन्दा कम मूल्यमा उपलब्ध हुने नेपाल आयल निगमले जनाएको छ । भण्डारणगृह निर्माण भएपछि भद्रपुरमा नै प्रशोधन हुने भएकाले लागत मूल्य कम हुने र मूल्य घटाएर इन्धन बिक्री गरिने पौडेलले जानकारी दिए । डिपो स्थापनापछि हवाई सेवा सहज हुने पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्