राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयलाई ५ अर्ब अनुदान
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्र्तगत ४ हजार २५० विद्यालयले भौतिक निर्माण, सूचना प्रविधि र अन्य क्षेत्रको पूर्वाधार निर्माण गर्न ५ अर्ब ६ करोड रुपैयाँ अनुदान पाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार अनुदान वितरण सम्बन्धि प्रतिवेदन बुझाउँदै प्रत्येक विद्यालयलाई ६ लाख ५० हजारदेखि १ करोड रुपैयाँसम्म अनुदान पाएको जनाएको छ । आवेदन परेका ६ हजार ९ सय २१ विद्यालयमध्ये छनौटमा परेका ४ हजार २५० विद्यालयले सो अनुदान पाएका छन ।
शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले अनुदान कार्यक्रममा भवन निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, शौचालय निर्माण, छात्रा शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधाका विस्तार गर्न खर्च गरिने बताए । यसैगरी पठनपाठनलाई प्रविधिमैत्री बनाउन सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधिलगायत प्राथमिकताको आधारमा बजेट विनियोजना गरिएको जानकारीको मन्त्रालयले जनाएको छ ।
६ हजार ९२१ विद्यालयहरूबाट कुल १४ अर्व ३५ करोड १९ लाख बराबरको विभिन्न कार्यक्रमहरुको लागि आवेदन प्राप्त भएको थियो । तर मन्त्रालयले ५ अर्बको बजेट अनुसार ४ हजार २ सय ५० विद्यालयलाई छनौट गरेको छ ।
मन्त्रालयले भौतिक पूर्वाधार विकास, मर्मत तथा संरक्षणका लागि ड्रइङ डिजाइन, लागत अनुमान हेरिएको छ भने लागत अधिकतम सीमा २५ लाख भन्दा बढी भएकोमा औचित्यता समेत हेरी छनोट गरिएको छ । यसरी छनौट गर्दा विद्यालय प्रबलीकरण (रेट्रो फिटिङ) कार्यका लागि प्राप्त प्रस्तावहरु तथा लागत साझेदारीका लागि प्राप्त प्रस्तावहरुलाई प्राथमिकतामा राखिएको छ । विद्यालयमा हाल अध्ययनरत विद्यार्थी संख्या, शिक्षक संख्या, भौतिक पूर्वाधारलगायतको विवरणहरुको समेत अध्ययन विश्लेषण गरिएको छ ।
विद्यालय भवन निर्माणको लागि न्युनतम दुई कोठा र अधिकतम ४ कोठासम्म प्रति दुई कोठाको लागि १८ लाखको अनुदान उपलब्ध गराइनेछ । त्यसैगरी प्रारम्भिक बालविकास, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, पुस्तकालयका लागि भवन निर्माणका गर्न एक ब्लक (दुई कोठा) बराबरको अनुदान १८ लाख अनुदान उपलब्ध गराइने शिक्षा सचिव रामप्रसाद थपलियाले बताए । शौचालयको लागि प्रस्ताव पेश गर्ने विद्यालयहरुलाई प्रति विद्यालय ७ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । त्यसैगरी खानेपानी माग गर्ने विद्यालयहरुको लागि पनि प्रति विद्यालय ७ लाख अनुदान उपलब्ध गराइने छ ।
शैक्षिक सामग्री व्यवस्थापन अन्तरगत शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका कम्प्युटर खरिदका लागि प्रति कम्प्युटर ५० हजार १० वटा कम्प्युटरको लागि र ल्यावको फर्निसिङका लागि प्रति विद्यालय १ लाख ५० हजार गरी ६ लाख ५० हजार रुपैयाँ र गुणस्तरीय शिक्षाका लागि÷शिक्षण सिकाइमा नविनतम प्रविधिको प्रयोग सम्बन्धी विषयमा प्रस्ताव पेश गर्ने विद्यालयहका लागि अधिकतम ६ लाख ५० हजार दरले सो भन्दा कम प्रस्ताव माग गर्ने विद्यालयलाई माग अनुसारको अनुदान उपलव्ध गराइएको छ । विज्ञान प्रयोगशाला सामग्री र पुस्तकालय सामग्रीको लागि आवेदन गरेका माध्यमिक विद्यालयहरूका लागि पनि प्रति विद्यालय ६ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराइने भएको छ ।