ब्रोडब्यान्ड इन्टरनेट प्रयोग सबैभन्दा बढी डाटाबाट «

ब्रोडब्यान्ड इन्टरनेट प्रयोग सबैभन्दा बढी डाटाबाट

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड ३९ लाख २१ हजार १ सय ८० जना रहेको छ । करिब एक चौथाइ प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड प्रयोग गर्छन् ।
वर्तमान परिप्रेक्ष्यमा नेपालमा मोबाइल डाटामार्फत इन्टरनेटको प्रयोग सबैभन्दा उच्च भएको छ । प्राधिकरणका अनुसार मोबाइल डाटाबाट इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ७५ लाख ७५ हजार ४ सय ११ जना रहेको छ । तथ्यांकअनुसार फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ६३ लाख ४५ हजार ७ सय जना रहेको छ । यसमध्ये तारको माध्यमबाट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या ६१ लाख १९ हजार ९९ जना रहेको छ भने बिनातार अर्थात् वायरलेस ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या २ लाख २६ हजार ६ सय ६२ जना रहेको छ । ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये सबैभन्दा धेरै मोबाइल डाटा प्रयोगकर्ता ७३ प्रतिशत, फिक्स वायर प्रयोगकर्ता २३ प्रतिशत र फिक्स वायरलेस प्रयोगकर्ता १ प्रतिशत रहेको छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सहज प्रविधि र मोबिलिटीका कारण मोबाइल डाटाबाट नेटको प्रयोग उच्च भएको हो । पछिल्लो समय नेपालमा स्मार्टफोन प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ । स्मार्टफोनमा सहजै इन्टरनेट चलाउन सकिने भएकाले प्रयोगकर्ताको संख्या बढेको हो । फिक्स इन्टरनेटको प्रयोग बढ्ने गरी नेपालमा आवश्यक पूर्वाधारको विकास भइसकेको छैन । भौगोलिक जटिलता र महँगो लागतले धेरै पहाडी र हिमाली जिल्लामा फाइबर सेवाको विस्तार हुने सकेको छैन । अन्य इन्टरनेटभन्दा प्राविधिक रूपमा मोबाइल डाटाको प्रयोगबाट इन्टरनेट चलाउन सहज र सरल हुन्छ । मोबाइल टावरको कभरेज धेरै हुने भएकाले मोबाइल टावरको कभरेज भएको जुनसुकै ठाउँबाट सजिलैसँग मोबाइल इन्टरनेटको प्रयोग गर्न सकिन्छ । त्यसैले सहज पहुँच र कभरेजका कारणले गर्दा पनि मोबाइल डाटाको प्रयोगमा वृद्धि भएको हो ।
वर्तमान नेपालको परिप्रेक्ष्यमा नेपालमा तीनवटा कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले मोबाइल इन्टरनेट सेवा प्रदान गरिरहेका छन् । यीमध्ये नेपालमा नेपाल टेलिकमको मोबाइल डाटा प्रयोगकर्ता सबैभन्दा धेरै छन् । नेपाल टेलिकमको हिस्सा ६० प्रतिशतभन्दा धेरै छ । नेपाल टेलिकमको प्रयोगकर्ता १ करोड ६ लाख ११ हजार १ सय ४३ जना छन् । त्यसपछि एनसेलको प्रयोगकर्ता ६७ लाख ५६ हजार ५ सय १५ जना छन् र स्मार्ट सेलको प्रयोगकर्ता १ लाख ९९ हजार ७ सय ६१ जना छन् । एनसेल र स्मार्ट सेलको मोबाइल इन्टरनेट मात्र छ भने नेपाल टेलिकमको एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन र वाइम्याक्स सेवा पनि छ । हाल नेपालमा मोबाइल डाटा प्रयोगकर्तामध्ये सबैभन्दा धेरै थ्रीजी चलाउने प्रयोगकर्ता रहेका छन् । थ्रीजी प्रयोकर्ताको संख्या १ करोड ११ लाख ६ हजार ६ सय ५२ जना रहेको छ ।
—नाम ?

प्रतिक्रिया दिनुहोस्