द्रुतमार्ग दोस्रो प्याकेजको ठेक्का रद्द गर्न निर्देशन «

द्रुतमार्ग दोस्रो प्याकेजको ठेक्का रद्द गर्न निर्देशन

संघीय संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई एक्सप्रेस वेको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेजमध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।
समितिले दु्रतमार्गको दुईवटा प्याकेजको टेण्डर आह्वानका लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो ।
समिति सचिव डा. रोजनाथ पाण्डेले भने, “फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आह्वानको लागि प्रि–क्वालिफिकेसनबाट छनोट भएका पहिलो प्याकेजमा दुई वटा र दोस्रो प्याकेजमा एउटा मात्रै कम्पनी छनौट भएको अवस्थामा प्रतिस्पर्धा हुन नसक्ने स्थिति पैदा भएको दोस्रो प्याकेज रद्द गरेर पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्न लेखा समितिले निर्देशन दिएको छ ।”’
यस्तै समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि चाँडै निर्देशिकाहरु तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्सट्रक्सनसँग सम्बन्धित डकुमेन्टहरु जारी गरेर अवरोध हटाउन निर्देशन दिएको छ ।
समिति सचिव पाण्डेले भने, “इपिसी सम्बन्धी जुन डकुमेन्टहरु बनाउनु पर्ने र सार्वजनिक खरिद संस्थाहरुलाई उपलब्ध बनाउनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालय छ, उसले डकुमेन्टहरु तयार नगरिदिँदा समस्या आएको छ । ती डकुमेन्ट यथासक्य छिटो निर्देशिकाहरु तयार गर्ने मापदण्ड कार्यविधि तयार गरेर ईपिसी सम्बन्धी टेण्डर अघि अवरोधहरु हटाउने र विवादहरुलाई अन्त्य गर्नुपर्छ ।”
नेपाली सेनाले दोस्रो प्याकेज अन्तर्गत मकवानपुरको धोन्द्रे स्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडा स्थित घट्टेपाखादेखि बाँदरेखोल्सी सम्म १.४ किलोमिटर गरी दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र प्रि–क्वालिफिकेसनमा छनोट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्