कर्णालीमा १० लाख पर्यटकको लक्ष्य «

कर्णालीमा १० लाख पर्यटकको लक्ष्य

सम्भावनालाई समृद्धिसँग जोड्न तथा अवसरमा बदल्नका लागि लगानी पहिलो पक्ष हो भने समृद्धि र अवसर दोस्रो पक्ष हुन् ।

कर्णालीको समृद्धि पर्यटनबाट मात्रै सम्भव छ । कर्णाली आफैंमा एक पर्यटन सम्भावनाको क्षेत्र हो । पर्याप्त लगानी गर्ने हो भने कर्णाली समृद्ध हुने आधार धेरै छन् । जडीबुटी, स्याउ, सिमी, ओखर अनि पर्यटन कर्णाली समृद्धिका आधार हुन् । तीमध्ये पनि कर्णाली समृद्धिका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा हेरिएको छ । मात्रै लगानी हुन नसक्दा पर्यटन सम्भावनाहरू अवसरमा रूपान्तरण हुन सकेका छैनन् ।
रारामा पर्यटन वर्ष घोषणापछि राराको विकास र समृद्धिका लागि प्रदेश सरकारको ध्यान आकर्षण भएको छ । रारामा हिजोआज दैनिक पर्यटन चहलपहल बढेको छ भने तीनै तहका सरकारको ध्यान रारामा परेको छ । लगानीको अभावमा मुगुको रारा तालले अझै समृृद्धि दिन सकेको छैन, तर कर्णालीमा पर्यटन समृद्धिको ढोका खोल्ने एक आधार रारा ताल हो ।
आर्थिक समृद्धिका लागि कर्णालीमा लुकेर रहेका पर्यटन सम्भावनाहरूलाई उजागर प्रवद्र्धनात्मक गतिविधि अघि बढाउनु आवश्यक छ । हुन त सरकारले २०७५ लाई रारा पर्यटन वर्ष घोषणा गरेपछि चहलपहल निकै बढेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लागिरहेको छ भने पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै रारामा अतिथि देवो भवः राष्ट्रिय अभियानअन्तरर्गत कार्यक्रम पनि सम्पन्न भएको छ ।
प्रधानमन्त्री र पर्यटन मन्त्रीले कर्णाली क्षेत्र पर्यटकीय हब भएको बताउँदै आएका छन्, तर लगानी नहुँदा अपेक्षाभन्दा पर्यटनबाट आर्थिक आम्दानी हुन सकेको छैन । कर्णालीमा २०७५ सालभित्र ५ लाख पर्यटक भिœयाउने गरी भइरहेका विभिन्न गतिविधिले कर्णालीमा पर्यटन समृद्धि छाएको जुम्ला पुगेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले बताए । लगानी बढाउनुपर्छ, कर्णालीको समृद्धि मात्रै पर्यटन बाट सम्भव छ । यहाँका सम्भावनालाई अवसरमा बदल्न लगानीमैत्री वातावरण सिर्जना गर्ने उनको दाबी छ ।
पर्यटन क्षेत्रकै विकासबाट कर्णाली एक सम्पन्न क्षेत्र बन्ने मन्त्री अधिकारीको विश्वास छ । जुम्लामा बनेको नेपालकै ठूलो शान्ति स्तूप उद्घाटन गर्दा कर्णालीमा पर्यटन समृद्धि ल्याउन इँटा थपिएको उनले बताए । कर्णालीलाई पर्यटनको हब बनाएरै छाड्ने सरकारी पक्षको दाबी छ । लगानीमैत्री वातावरण बनाउन स्थानीय सरकार लागिपरेको छ ।
कर्णाली समृद्धिको आधार पर्यटन हो र पर्याप्त लगानी गरेर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । पर्यटन विकासका लागि गुरुयोजना तयार गरिए पाँच वर्षमा जुम्ला पर्यटकीय सहर बन्न सक्छ ।

ओझेलमा तातोपानी कुण्ड
जुम्लामा नयाँ पर्यटकीय गन्तव्य फेला परेको छ । तर, कुनै पनि निकायको ध्यान नजाँदा ओझेलमा परेको छ । जुम्ला सदरमुकामको पूर्वतर्फ पर्ने पातारासी गाउँपालिका–४, लुमगाउँस्थित धानचौरी तातोपानी कुण्ड ओझेलमा परेको देखिन्छ । पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको यो कुण्ड प्रचारप्रसार र उचित संरक्षणको अभावले ओझेलमा परेको हो । यस कुण्डको तातोपानी स्वाद र बास्नायुक्त भए पनि प्रचार प्रसारको कमीले यस विषयमा जिल्लावासीलाई समेत थाहा छैन ।
यहाँका केही स्थानीयले चिसो मौसममा यस कुण्डमा गएर नुहाउने गरे पनि अन्य समयमा भने कुण्डतर्फ कसैको ध्यान जाँदैन । मुगुको प्रसिद्ध छायानाथ, ऋणीमोक्ष तीर्थस्थलको यात्रा, कुण्डनजिकैको रानी गुफा र मनै लोभ्याउने पातारासी हिमालको दृश्य अवलोकन तथा विश्वको उच्च स्थान कालीमार्सी धान फल्ने जुम्ला छुमचौरजस्ता यहाँ थुप्रै पर्यटकीय सम्भावनाहरू छन् ।
समयमै आवाश्यक पूर्वाधार निर्माण र उचित प्रचार–प्रसार गरेर पर्यटक भिœयाउनेतर्फ जिल्लाको ध्यान जान नसक्दा तातोपानी कुण्ड ओझेलमा परेको हो । यहाँका बूढापाकाहरूका अनुसार यो कुण्डको पानी पहिलेदेखि नै तातो, स्वाद र बास्नायुक्त थियो । स्थानीयहरूले बल्ल तातोपानी कुण्डको महत्व बुझेपछि यसको संरक्षण र प्रचारप्रसारमा लागेका छन् । तर, यो कुण्ड संरक्षणमा सरकारी निकायले चासो नदिएको आरोप लागिरहेका बेला ढिलै भए पनि गाउँपालिकाले यसको संरक्षण र प्रर्वद्धनमा चासो दिएको छ ।
गाउँपालिकामा पर्यटक भिœयाउने ध्येयका साथ कुण्डको संरक्षण र प्रर्वद्धन गर्न लागिएको छ । पर्यटकीय हिसाबले कुण्ड ईश्वरीय वरदान नै रहेछ, बल्ल हामी बुझ्दैछौं, पर्यटकीय विकासका लागि अब यसको संरक्षणमा कमी हुनेछैन । कुण्ड संरक्षण र प्रवद्र्धनका लागि जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायमा पहल गर्न स्थानीयले समिति समेत बनाएका छन् । खेर गएको कुण्डको पानीले अब पैसा दिनेछ, यो माध्ययम तयार गर्न गाउँवासी लागिपरेका छन् ।
समितिकै प्रयासले गर्दा गाउँपालिकाले यस आर्थिक वर्षको बजेटबाट कुण्ड संरक्षण तथा प्रवद्र्धनका लागि भन्दै १० लाख रकम विनियोजन गरेको छ । यस्ता स्थानहरू नेपालको विरलै ठाउँमा मात्र हुन्छन्, यिनै प्राकृतिक सम्पादाहरूलाई सदुपयोग गरी आमनागरिकमा समृद्धि ल्याउने अपेक्षा गरिएको छ । गाउँपालिकामा यस्तै विभिन्न किसिमका प्राकृतिक पर्यटकिय स्थलहरू छन्, त्यसको आधारमा गाउँपालिकाले गुरुयोजना समेत बनाउनेछ ।

पर्यटन विकासमा जोड दिऊँ
आवश्यक पूर्वाधार अभावले जुम्लाको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ । सरकारी संयन्त्र, संघ संस्थालगायत पर्यटनप्रति उदासीन छन् । जिल्लामा रहेका सबै पर्यटकीय क्षेत्रको गन्तव्यस्थलसम्म पुग्न सडक सुविधा छैन । पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षाको समेत अभाव छ ।
पर्यटनमैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवाहरू नै बताउँछन् । पहिल्लो समय चन्दननाथ नगरपालिकाको सिंगाचौर गाउँनजिकै बनेको बौद्ध स्तूप हेर्ने आन्तरिक पर्यटक बढे पनि यो नै पर्याप्त छैन । जिल्लाको तातोपानी धारामा आन्तरिक तथा बाह्य पर्यटक बढे पनि धाराको उचित संरक्षण, व्यवस्थापन तथा आवश्यक पूर्वाधारको कमीले आउनुपर्ने जति पर्यटक आउन सकेका छैनन् । चिसो बढ्दै गएपछि हाल दैनिक ५ सयभन्दा बढी पर्यटक आउने गरेको देखिन्छ ।
यस्तै प्रचुर पर्यटकीय सम्भावना बोकेका गिडिदह, पाण्डवगुफालगायतका दर्जनौं स्थानसम्म सहजै पुग्ने पूर्वाधार नभएकै कारण पछि परेका छन् । जुम्लाका पर्यटकीय सम्भावनालाई आर्थिक समृद्धि र अवसरमा बदल्नका लागि स्थानीय सरकारको लगानी आवश्यक देखिन्छ ।

जुम्लाका सम्भावना र लगानी
सम्भवनाले मात्रै समृद्धि हुन सक्छ भन्ने तर्क त्यति तार्किक मानिँदैन र हुदैन पनि । सम्भावनालाई समृद्धिसँग जोड्न तथा अवसरमा बदल्नका लागि लगानी पहिलो पक्ष हो भने समृद्धि र अवसर दोस्रो पक्ष हुन् । किनभने सम्भावना हेरेर मात्रै कसैको भोको पेट भरिने अवस्था छैन ।
तर पनि सम्भावनालाई अवसरमा रूपान्तरण गर्न लगानी अपरिहार्य विषयवस्तु हो । लगानीबिना सम्भावनाहरू लोप भएर जान्छन्, तर सम्भावनाले समृद्धि दिन सक्दैन । त्यस्तै परिस्थितिका बीच जुम्लाका पर्यटकीय सम्भावना बोकेका क्षेत्र ओझेलमा परेका छन् । नेताले बोल्ने भाषणमा सम्भावनाले भरिएको जुम्ला भने पनि भाषणले मात्रै समृद्धि भएको देखिँदैन । त्यसका ज्वलन्त उदाहरण थुप्रै छन् जुम्लामा ।
गुठीचौर पाटन, पातारासी हिमाल, पातारासीको तातोपानी कुण्ड, चन्दननाथ भैरवनाथ, तातोपानी धारा, पाण्डवगुफा, कनकासुन्दरीलगायत अन्य पौराणिक महत्व बोकेका क्षेत्रहरू थुप्रै छन् । तर, ती पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूबाट पाउनुपर्ने अवसर हुनुपर्ने आम्दानी भएको छैन् । खाली सम्भावनाका हामी धनी छौं भनेरै मात्रै चित्त बुझाएका छौं । किनभने यी विभिन्न क्षेत्रमा लगानीको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्