भरतपुरको सिजी ल्यान्डमार्कमा पनि केएफसी

विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ । केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा नयाँ आउटलेट खोलेको हो ।
१५ जनाले प्रत्यक्ष रोजगारी पाएको यो रेस्टुँरा आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले गरेका हुन् । नेपालमा केएफसीको अधिकृत प्रतिनिधि देवयानी इन्टरनेसनलले नेपाल प्रालिले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो ।
पोल्ट्रीको राजधानी मानिने चितवनमा चिकेन परिकारमा विश्वभर ख्याति कमाएको केएफसीको प्रवेशले यहाँको पोल्ट्री व्यवसाय प्रवद्र्धनमा समेत योगदान गर्ने अध्यक्ष अर्यालले बताए । केएफसीले अन्तर्राष्ट्रिय स्वादका परिकार पस्केर चितवनसँग सुमधुर सम्बन्ध विकास गर्ने समेत उनले बताए ।
सिजी ल्यान्डमार्कका म्यानेजर केसीले मल कल्चरमा आकर्षित चितवनबासीलाई केएफसीले अर्को अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडेको बताए । यसले चितवनको आधुनिक जीवन शैलीमा उचाइ थप्ने उनको भनाइ छ ।