गाउँपालिकालाई लाखौं मूल्यको जग्गा दिन तँछाडमछाड «

गाउँपालिकालाई लाखौं मूल्यको जग्गा दिन तँछाडमछाड

दिलबहादुर केसी
दोलखा, २४ असोज/
वैत्यश्वर गाउँपालिका– ६ का पदमप्रसाद दाहालले दसैं अघि असोज ९ गते मालपोत कार्यालय दोलखामा आएर वैत्यश्वर गाउँपालिकाको नाममा ४ रोपनी जग्गा रजिष्ट्रेसन पास गरिदिए । उनका भाइ कृष्णबहादुर दाहालले २ रोपनी गाउँपालिकालाई दिए । दाहाल दाजुभाइजस्तै मालपोत कार्यालय दोलखामा आएर वैत्यश्वर ६ साविक नाम्दू गाविस ४ का १६ जनाले सोही दिन ३० रोपनी जग्गा गाउँपालिकाको नाममा निःशुल्क जग्गा दान गरेका छन् । गाउँपालिकाको नाममा नाम्दू ६ पाडुलाडाँडामा रहेको जग्गा स्थानीयहरूले दान गर्नेमा दिलबहादुर दाहालले सबैभन्दा बढी ८ रोपनी उपलब्ध गराएका छन् ।

त्यसैगरी त्यसको ९ दिनपछि अर्थात दसैंपछि सरकारी कार्यालय खुलेको पहिलो दिन पनि सोही स्थानका नारायण भट्टराई, हरिप्रसाद भट्टराई, गडुरनाथ योगीसहित ७ जनाले थप १० रोपनी जग्गा पनि गाउँपालिकाको नाममा दान गरे । गाउँपालिका केन्द्र बनाउनका लागि स्थानीयहरू खुुसी भएर चाहिए जति जग्गा लिन जग्गाधनी पूर्जा नै गाउँपालिका अध्यक्ष छवि लामा र उपाध्यक्ष रविचन्द्र आचार्यलाई जिम्मा लगाएका छन् । स्थानीयले ७० रोपनी जग्गा गाउँपालिका केन्द्रका संरचना निर्माणका लागि दान गर्न लागेका हुन् । गाउँपालिका प्रमुख छवि लामाले बाँकी जग्गा पनि चाँडै रजिष्ट्रेसन पास हुने बताए ।

“४० रोपनी जग्गा गाउँपालिकाको नाममा प्राप्त भइसक्यो” उनले भने ‘केही व्यक्तिहरूले लालपूर्जा दिइसक्नु भएको छ, तर आफ्नो व्यस्तताले आउन सक्नुभएन केही दिनमै पास हुन्छ ।” स्थानीय तहको पुनर्संरचना गर्दा जिल्लास्तरीय सुझाव समितिले नाम्दूको पाडुलामा केन्द्र राख्ने सिफारिस गरेको थियो । पछि पुनसंंरचना आयोगले सीमित व्यक्तिको प्रभावका आधारमा काब्रे गाविस भनेर आयो । स्थानीयको भावना र पायक पर्ने केन्द्रको रूपमा आफू निर्वाचित भएपछि पाँडुलामै केन्द्र राख्ने निर्णय भएपछि स्थानीयहरू खुसी भएर जग्गा दान गरेका हुन् ।
नाम्दू ६ का कुमार घिमिरेका अनुसार पाँडुलाको सरकारी मूल्याङ्न प्रतिरोपनी ३८ हजारदेखि ७८ हजारसम्म छ । तर स्थानीयस्तरमा प्रतिरोपनी ४ लाखसम्म किनबेच भएको छ । गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले स्थानीयले दान गरेको जग्गा गाउँपालिकाको भौतिक संरचना निर्माणका लागि पर्याप्त हुने बताए । काम गर्दै जाँदा जग्गा नपुग भएमा सिमानामा रहेको सार्वजनिक जग्गालाई पनि प्रयोग गर्न सकिने उनले बताए ।

पाडुलामा २५ जनाको ४५५ कित्ता जग्गा रहेको छ । जग्गाधनीसँग रहेको ७५ प्रतिशत जग्गा आफूसँग राखेर २५ प्रतिशत गाउँपालिकाको नाममा पास गर्ने स्थानीयहरूले निर्णय गरेका छन् । कोही कसैको जग्गा २५ प्रतिशतभन्दा बढी गाउँपालिकाको केन्द्र बनाउनका लागि प्रयोग गर्न पास गर्नुपर्ने भएमा पछिल्लो घेरामा रहेका जग्गाधनीले सट्टा पास गर्ने समेत निर्णय गरेका छन् ।
वैत्यश्वर ६ का पुण्यप्रसाद घिमिरेले आफ्नो जग्गा केन्द्रलाई दान दिने ठाउँमा नपरेपछि पछाडिको जग्गा दान गर्नेहरूलाई पास गर्न आएको बताए । केन्द्रको जग्गा दान दिन र पछाडिको जग्गा सट्टा भर्नाका लागि स्थानीयको छुट्टाछुट्टै समिति बनेको छ । गाउँपालिकाको नाममा जग्गा दान गर्नेहरूलाई ७५ प्रतिशत जग्गा पछाडिको जग्गाबाट पु¥याउने सहमति भएको उनले बताए ।
पुनःसंरचना आयोगले गाउँपालिका केन्द्र जहाँ तोके पछि छ महिनाभित्र गाउँ सभाको बैठकको निर्णयबाट उपयुक्त ठाउँमा सार्न सकिने व्यवस्था भएको गाउँपालिका उपाध्यक्ष आचार्यले बताए । जग्गा प्राप्त भइसकेकाले आफ्नो पुरानो वाचा अनुसारै गाउँसभाबाट चाँडै पाडुलामा केन्द्र बनाउने निर्णय गर्ने बताए ।केन्द्रका लागि चालु आर्थिक वर्षमा नै भवन निर्माण प्रक्रिया सुरु गर्ने उनले बताए । गाउँपालिकाको संरचनाका लागि २१ वटा भवन बन्ने उनले बताए । मालपोत अधिकृत अर्जुन प्रसाद पोखरेलले सरकारका नाममा जग्गा पास हुने भएकाले कुनै पनि शुल्क मालपोतले नलिएको बताए ।

अरु गाउँपालिका पनि छलफलमै
दोलखामा ९ वटा स्थानीय तहमध्ये केहीको केन्द्र कहाँ रहने भन्ने विवाद अझै कायमै छ । भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकाको केन्द्रको विषयमा खासै विवाद छैन । गौरीशंकर गाउँपालिका र मेलुङ गाउँपालिकाको साबिककै गाविसमा केन्द्र भए तापनि त्यसको पनि कुन ठाउँमा राख्ने भन्नेबारे विवाद कायमै छ ।
तामाकोशी गाउँपालिकाको हाल जफेमा अस्थायी केन्द्र सञ्चालनमा छ । त्यहाँ पनि जफेमा राख्ने कि मालूमा भन्ने विवाद छ । कालिञ्चोक गाउँपालिकाको सुनखानीमा राख्ने कि लामिडाँडा वा लापिलाङ भन्ने विवाद छ । कालिञ्चोकको हाल वडा नं. ७ मा अस्थायी केन्द्र सञ्चालन हुँदै आएको छ । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले छलफलबाटै गाउँपालिका केन्द्र टुङ्गो लगाउने बताए । सरकारले अस्थायी केन्द्र तोकेर पठाए तापनि स्थानीयलाई पायक पर्ने गरी ६ महिना भित्र गाउँसभाले टुङ्गो लगाउन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्