Logo

अध्यक्ष रोहितसँग ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनको भेट

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गरेका छन् । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने र जनप्रतिनिधिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनताले सुख पाउने बताए ।
प्राचीन र ऐतिहासिक सहर तथा सम्पदा क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने र व्यवस्थित रूपले काम गर्न नगरपालिकामा कार्यरत निरीक्षकहरूलाई इन्जिनियरिङ तालिम दिनुपर्ने अध्यक्ष बिजुक्छेँले बताए । उनले पुरानो सीप तथा प्रविधिहरूलाई संरक्षण गर्नुपर्ने बताउनुहुँदै भाषा तथा साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताए ।
भेटमा ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशकै लागि उदाहरणीय कार्य गरिरहेको र ललितपुरले पनि सम्पदा बस्ती संरक्षण गर्ने हेतुले आवश्यक नीति–नियमहरू बनाउँदै अगाडि बढिरहेको बताए ।
ललितपुरको सम्पदा संरक्षणमा महानपाले गरिरहेको कार्यहरूबारे अवगत गराउँदै प्रमुख महर्जनले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा ठेकेदारलाई भन्दा स्थानीय उपभोक्ता समितिमार्फत गराउनुपर्ने महानपाले निरन्तर जोड दिँदै आएको बताए । सो भेटमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको पनि उपस्थिति थियो ।
अध्यक्ष बिजुक्छेँलले नेमकिपाको पार्टी प्रकाशनहरू मायाको चिनोस्वरुप प्रमुख महर्जनलाई प्रदान गरेको थियो भने प्रमुख महर्जनले पनि उहाँलाई उपहारस्वरुप केही प्रकाशनहरू प्रदान गरेका थिए ।
भेटपश्चात प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा दुई नगरपालिकाबीच अनुभव आदान प्रदान भयो । ललितपुर महानपाले सञ्चालनमा ल्याएको संग्रहालय व्यवस्थापन र महानगरले सञ्चालन गरिरहेको विविध विषयमा उनीहरूबीच छलफल भयो । नगर प्रमुख प्रजापतिले प्रमुख महर्जनलाई भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरू मायाको चिनोको रूपमा प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्