Logo

मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा

पर्वत-निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।
समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्मा बजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला–फलेवास सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको हो । कुश्मा नगरपालिका–८ दोबिल्ला स्थित मोदीखोलामाथि रहेको सो मोटरेबल पुलको समय समयमा मर्मत नहुँदा सवारी साधन र यात्रुसमेत जोखिमपूर्ण रूपमा वारपार गर्न बाध्य भएका छन् ।
पुलको अधिकांस ठाउँमा नट बोल्ट खुस्किएको, पुलमा रहेका पाताहरू उप्किएका तथा ठाउँठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारी साधन र यात्रुहरू जोखिममा परेका छन् । पुलका पाता नै उप्किएर खाल्डा परेका छन् । तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमित रूपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्ण बन्दै गएको सवारीचालकको गुनासो छ ।
पुलको नियमित रूपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडी, डोजर, लोडरलगायतका हेबी इक्युप्मेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनले भने, “पुलमा जुनसुकै बेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।”
पुलबाट ५ स्थानीय तहका ४५ भन्दा बढी वडामा सवारीसाधन आवतजावत गर्दछन् । दैनिक सयौको संख्यामा सवारीसाधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमता भएको भए पनि ओभरलोड गरी लैजाँदा समेत कुनै निकायले कारबाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूला ठूला डोजर लोडरजस्ता उपकरण यहीँबाट तार्ने गरेको समेत पौडेलको भनाइ छ । उता जिल्ला समन्वय समिति पर्वतले पुल मर्मतका लागि कुनै कोष नभएकाले रेखदेख भए पनि जीर्ण बन्दासमेत मर्मतको काम गर्न नसकेको बताएको छ ।
पूर्वाधकार विकास कार्यालय पर्वतले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको बताएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता वेल्डिङ गरेर जोड्नेबाहेक अरु योजना नरहेको कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । पुल मर्मतका लागि स्टिमेट तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरूपमा मर्मत गर्न सकिने उनको भनाइ रहेको छ ।
नेपाल सरकार स्थानीय विकास मन्त्रालयले नेपालमै नमुना पुलको रूपमा सस्पेन्डेड मोडलमा सो पुल निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्