Logo

२७३ किमि हुलाकी राजमार्ग हस्तान्तरण


भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ ।
बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङगलाई निर्माण सम्पन्न भएका सडकखण्ड हस्तान्तरण गरेका छन् । कुल १ हजार ८ सय ५७ किलोमिटर लम्बाइ भएको हुलाकी राजमार्गको २ सय ७३ किलोमिटर सडक बुधबार हस्तान्तरण गरिएको हो । योसँगै हुलाकी राजमार्गलाई जोडने वीरगन्ज–ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा छ । नेपालको तराई क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको निर्माण लामो समयदेखि अडकिएर बसेको भए पनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङगले नेपालको भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखि नेपालीको नारालाई यस प्रकारका भौतिक पूर्वाधारको माध्यमबाट साकार पार्न सकिने उनको दाबी छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताए । भारतले छिमेक पहिलो नीति लिएर छिमेकी देशको भौतिक पूर्वाधारको विकास, सामाजिक विकास र आर्थिक उन्नति हुनेगरी सहयोग गरिरहेको बताए । नेपालसँग त रोटीबेटीको सांस्कृतिक सम्बन्ध पनि रहेको हुँदा सँधै सहयोग गरिरहने उनले बताए । आगामी महिना जनकपुर–जयनगर रेल सञ्चालन हुने अवस्थामा रहेको र त्यसका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको पनि बताए । यस्तै रक्सौल–काठमाडौं रेलमार्गका लागि डीपीआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताए ।

प्रतिक्रिया दिनुहोस्