वैदेशिक रोजगारी असुरक्षित : अध्ययन
धनगढी-रोजगारीका लागि भारततिर आप्रवासन गर्नु खाडीमुलुकभन्दा बढी चुनौतीपूर्ण रहेको एक अध्ययनको प्रारम्भिक निष्कर्ष छ ।
वैदेशिक रोजगारीको चुनौती र सरोकारवालाको भूमिका विषयमा गरिएको अध्ययनले रोजगारीका लागि तेस्रो मुलुक जानेभन्दा भारत जाने नेपाली बढी असुरक्षित रहेको देखाएको हो । देशैभर गरिएको अध्ययनले सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढी भारत जाने गरेको देखाएको छ । भारतबाहेकको तेस्रो मुलुक जानेको संख्या दुई प्रतिशतमात्रै छ ।
सुदूरपश्चिमेलीहरू रोजगारीका लागि भारतबाहेक मलेसिया र खाडीमुलुक जानेका छन् भने खाडीमा पनि प्रमुख गन्तव्य यूएई रहेको अध्ययनले देखाएको छ । समता फाउण्डेशनले बुधबार धनगढीमा सो अध्ययनका लागि थप सुझाव संकलन गर्न आयोजना गरेको ‘वदेशिक रोजगारीको चुनौती र सरोकारवाला पक्षको भूमिका विषयक अध्ययनका निष्कर्षबारे प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा अध्ययनमा साझेदार संस्था सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सका कार्यकारी निर्देशक युवराज नेपालले वैदेशिक रोजगारीमा जानेमध्ये तेस्रो मुलुक जानेको संख्या कैलाली र कञ्चनपुरमा बढिरहेको बताए । उनले सुदूरपश्चिमका पहाडी जिल्लाबाट तेस्रो मुलुक जाने थोरै रहेको बताए ।
उनले भारत जाने महिला पनि एक्लै नगएर परिवारसँंगै जाने गरेको अध्ययनबाट देखिएको बताए । उनले भारत जानका लागि सरकारले कुनै रेकर्ड नराख्ने, जतिबेला पनि जुनसुकै परिस्थितिमा जान मिल्ने भएकाले मानव बेचबिखनको घटना पनि बढिरहेको बताए । भारतमा सिजनल रुपमा अदक्ष कामदार जाने गरेका कमाई पनि उत्साहजनक नभई गुजारा गर्ने किसिमको मात्रै भेटिएको बताए ।
भारतमा रोजगारी गर्न जाँदा बिमाको व्यवस्था पनि नभएको, दुर्घटना हुँदा सहयोग गर्ने निकाय नभएको, दुःख पर्दा कसलाई निवेदन गर्ने भन्ने जानकारीसमेत नलिएर नागरिक भारतमा रोजगारी गर्न जाने, मृत्यु तथा दुर्घटना हुँदा सरकारको तर्फबाट समेत सहयोग नहुने भएकाले भारतमा वैदेशिक रोजगारी तेस्रो मुलुकभन्दा बढी असुरक्षित देखिएको कार्यकारी निर्देशक नेपालले बताए ।
भारतमा नेपालीले गर्ने रोजगारी आईएलको मिनिमम स्ट्यान्डर्डमा नभएको, काम गर्ने समयको दर निश्चित नभएको र तलब थोरै भएको, विगतमा भारतबाटै एचआईभी संक्रमण भित्रिएको, अहिले कोरोना भाइरसको संक्रमण पनि भारतबाट भित्रिरहेको लगायतका कारणले पनि भारतमा वैदेशिक रोजगारी असुरक्षित र अमर्यादित रहेको अध्ययनको निष्कर्ष छ । भारतमा गरेको कमाई बैंकिङ माध्यमबाट पठाउनुपर्छ भन्ने ज्ञान नभएका कारणले नगद बोकेर घर फर्किंदा लुटिने, त्यस्तो बेला अंगभंग तथा ज्यानै जानसक्ने जस्ता घटना हुने गरेको अध्ययनले भनेको छ । यद्यपि, अध्ययनका यी निष्कर्ष अन्तिम नरहेको कार्यकारी निर्देशक नेपालले बताए ।
उनले सातवटै प्रदेशमा सरोकारवालासँंग छलफल गरेर अन्तिम निचोड निकालेर प्रतिवेदन प्रकाशन गर्ने बताए ।
अध्ययनले भारतमा रोजगारी गरिरहँदा घटना भएमा सरकारबाट कुनै पनि सुविधा नपाइने भएकाले पनि भारतमा वैदेशिक रोजगारी चुनौतीपूर्ण रहेको भनेको छ । कोभिड–१९ मा भारतबाट फर्किने नागरिकलाई क्वारेन्टाइनमा राख्न परेपछि स्थानीय सरकारले भारतमा रोजगारी गर्न जाने मानिसका लागि कार्यक्रम ल्याउनुपर्छ र भारतको रोजगारीलाई व्यवस्थित गर्नुपर्छ भन्ने चेत स्थानीय जनप्रतिनिधिमा देखिएको अध्ययनले जनाएको छ । “तर त्यसका लागि स्थानीय सरकारले ठोस कार्यक्रम ल्याएको देखिएन,” कार्यकारी निर्देशक नेपालले भने, “भारतमा रोजगारीका लागि हुने आप्रवासनलाई व्यवस्थित गर्न नीति तथा कार्यक्रममै व्यवस्था गर्न आवश्यक देखिएको छ । भारतमा हुने आप्रवासनलाई व्यवस्थित गर्ने र रोजगारीका लागि भारत जानेलाई सीप तालिम दिन पनि जरुरी देखिएको छ ।”
कार्यक्रममा सहभागी इन्सेककी जिल्ला प्रतिनिधि मैनामती चौधरीले भारतमा रोजगारी गर्न जाँदा दलाल लाग्ने गरेकाले पनि आर्थिक रुपमा असुरक्षित रहेको बताइन् । उनले दलालले रोजगारी दिने भन्दै लग्ने र साहुबाट कामदारको तलब आफूले बुझेर कामदार नदिने गरेको घटना इन्सेकले दर्ता गरेको बताइन् ।